भोटेकोशी पीडितलाई निसर्ग अस्पतालले ११ लाख ११ हजार १११ रुपैयाँ सहयोग गर्यो, यसपटक तीज कार्यक्रम नगर्ने निर्णय

धनगढीस्थित निसर्ग अस्पतालले भोटेकोशी बाढी पीडितहरूको राहत र पुनर्स्थापनाका लागि ११ लाख ११ हजार १११ रुपैयाँ सहयोग गरेको छ। अस्पतालले आफ्नो वार्षिक तीज कार्यक्रम नगर्ने निर्णय गरि त्यसका लागि छुट्याइएको रकम समेत राहतका लागि समर्पण गरेको हो। संकलित रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषको ग्लोबल आइएमई बैंक खातामा राखिएको अस्पतालले जनाएको छ।
भोटेकोशी बाढी पीडितको राहत तथा पुनर्स्थापनाका लागि कैलालीको धनगढीस्थित निसर्ग अस्पतालले ११ लाख ११ हजार १ सय ११ रुपैयाँ सहयोग गरेको छ। बाढीबाट ठूलो जनधनको क्षति हुँदा कैयौँ परिवार पीडामा रहेका बेला, अस्पतालले आफ्नो वार्षिक तीज कार्यक्रमसमेत नगर्ने निर्णय गर्दै उक्त कार्यक्रमका लागि छुट्याइएको रकम राहतका लागि समर्पण गरेको हो।
निसर्ग अस्पतालका कर्मचारी, स्टाफ नर्स, चिकित्सक तथा शेयर सदस्यहरूबाट कम्तिमा एक दिन बराबरको तलब/सुविधा सहयोग गर्ने निर्णयसँगै तीज कार्यक्रमका लागि छुट्याइएको रकम समेत जोडेर कुल ११ लाख ११ हजार १ सय ११ रुपैयाँ भोटेकोशी बाढी पीडितका लागि सहयोग गरिएको अस्पतालका अध्यक्ष तीर्थराज पन्तले जानकारी दिए।
अस्पतालले हरेक वर्ष महिला कर्मचारी तथा चिकित्सकहरूका लागि तीज कार्यक्रम आयोजना गर्दै आएको थियो। तर यस वर्ष भोटेकोशीमा आएको विनाशकारी बाढीले ठूलो जनधनको क्षति पुर्याएपछि तीज कार्यक्रम नगरी त्यसका लागि छुट्याइएको रकम पीडितको राहत र पुनर्स्थापनामा लगाउने निर्णय गरिएको हो। निसर्ग अस्पतालका कर्मचारी, स्टाफ नर्स, चिकित्सक र संस्थाको तर्फबाट संकलित ११ लाख ११ हजार १ सय ११ रुपैयाँ नेपाल सरकारको ‘प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष’ अन्तर्गत ग्लोबल आइएमई बैंकको आधिकारिक बैंक खाता नं. ८८००४०१०१०००००५७८८ मा जम्मा गरिएको अस्पतालले जनाएको छ।
अस्पतालका अध्यक्ष पन्तले भने, ‘हामीले गरेको सहयोगले बाढीले पुर्याएको सम्पूर्ण क्षतिको पूर्ति गर्न सक्दैनौं। तर पीडामा रहेका परिवारलाई हामी उनीहरूको साथमा छौं भन्ने भरोसा दिन सक्छौं।’ चाडपर्वको खुसीलाई केही समयका लागि स्थगित गरी विपत्तिमा परेका परिवारको साथमा उभिनु आफ्नो सामाजिक उत्तरदायित्व रहेको उनको भनाइ छ। निसर्ग अस्पताल सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न मानवीय र सामाजिक सहयोगका कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ।






