Skip to main content

पाटनको कुम्भेश्वरमा जनैपूर्णिमाको चहलपहल

समाचार सारांश मन्दिरमा पूजा, रक्षाबन्धन, जनै फेर्न र कुण्ड–धारामा स्नान गर्न भक्तजनहरू लाइनमा छन् भने प्रहरी सुरक्षा र लाइन व्यवस्थापनमा तैनाथ छन्। १२ भदौ, काठमाडौं। आज जनैपूर्णिमा र रक्षाबन्धन पर्व मनाइँदै छ। हरेक वर्षझैं यस वर्ष पनि पाटनस्थित कुम्भेश्वर मन्दिरमा मेला लागेको छ। आज कुम्भेश्वर मन्दिर परिसरमा जनैपूर्णिमा मनाउन भक्तजनहरूको घुइँचो छ। कोही मन्दिरमा पूजा गर्न लाइन बसेका छन् भने कोही रक्षाबन्धन बाँधिरहेका छन्। मन्दिर परिसरमा जनै फेर्नेहरूको पनि चहलपहल छ। भक्तजनहरू कुण्ड र धारामा नुहाइरहेका छन्। केही युवाहरू मन्दिर परिसरको तालमा डाइभ हाली पौडी खेलेर रमाइरहेका छन्। सुरक्षा र लाइन व्यवस्थापनका लागि प्रहरी परिचालन गरिएको छ। कुम्भेश्वर मन्दिर परिसरमा रहेको कुण्डलाई धार्मिक मान्यता अनुसार भगवान् श्रीरामले तीर हानी गोसाइँकुण्डको पानी निकालेको विश्वास छ। यही धार्मिक आस्थाले जनैपूर्णिमाको दिन देशका विभिन्न भागबाट भक्तजन कुम्भेश्वरमा स्नान गर्न आउने गरेका छन्।