
भोटेकोशी नदीमा रसुवाको स्याफ्रुबेँसी हुँदै सानो बाढी त्रिशूली नदीतर्फ अगाडि बढेको स्थानीय बासिन्दा र विज्ञहरूले बताएका छन्। नेपाली अधिकारीहरूको अनुसार उक्त बाढी पहिरोले थुनेर बनेको ताल भत्किएको कारण नभई बढी पानी बाहिर निस्किएर भएको हुनसक्ने जनाएका छन्। अहिलेसम्मको बाढीको वेग बुधबारको जस्तो तेज नभएको पूर्वानुमान महाशाखाका वरिष्ठ जलविज्ञान विज्ञ विनोद पराजुलीले बताए।
चिनियाँ सरकारी सञ्चारमाध्यमले पनि ताल भत्किएको नभई त्यहाँ जम्मा भएको पानीले भरिएर बाहिर निस्किएको विवरण प्रस्तुत गरेको छ। बुधबार घटना भएको स्थानमा ताल जमेको देखिएपछि पुनः बाढी आउन सक्ने सम्भावनालाई लिएर नेपाल प्रहरीले सुरक्षा सतर्कता जारी गरेको थियो। भोटेकोशी नदीमा लेदोसहितको बाढी बढेको भए पनि चीनतर्फ बनेको ताल फुटेको आधिकारिक जानकारी नआएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणकी प्रवक्ता शान्ति महतले बताइन्।
तर खतरा कायम रहेको छ। “पानीको बहाव बढेको छ तर त्यो सामान्य बाढी हो। ठूलो बाढी देखिएको छैन, तर त्यसबारे अपडेट लिइरहेका छौं,” उनी भन्छिन्। “यसले (रसुवा र नुवाकोट) क्षेत्रमा जारी उद्धार कार्यलाई प्रभावित बनाउन सक्ने भएकाले सतर्कताको सूचना जारी गरेका छौँ।” पराजुलीका अनुसार खतरा अझै सकिएको छैन। “त्यहाँ २० लाख घनमिटर पानी जम्मा हुने सम्भावना छ र पानी भरिएपछि ३० लाख घनमिटर पुग्न सक्ने भएको बताइएको छ। अहिले भर्खर त्यहाँ खोलिएको सूचना आएको छ,” उनले भने।
चिनियाँ सरकारी सञ्चारमाध्यम सीसीटीभीले स्थानीय समय अनुसार दिउँसो २ बजेपछि दिएको जानकारी अनुसार तिब्बततर्फ नदी थुनिएर बनेको बाँधमा पानीको मात्रा केही घटेको छ र सामान्य रूपमा उद्धार कार्य भइरहेको छ। चिनियाँ उद्धारकर्ताहरूले नेपाल–तिब्बत सीमा क्षेत्रमा पुगेर बाढीको जोखिम घटाउन प्रयास गरिरहेका छन्। तिब्बततर्फको उक्त क्षेत्रमा ५०० जनाभन्दा बढी व्यक्तिहरू हराइरहेका छन्।






