Skip to main content

६७९ जना अझै सम्पर्कविहीन, उद्धारमा हेलिकप्टर पुग्न सकेन

भोटेकोशीको बाढीले रसुवा र नुवाकोटका १३ जलविद्युत् आयोजनाहरूमा प्रत्यक्ष क्षति पुर्याएको छ र ९३३ कामदार सम्पर्कविहीन भएका छन्। इप्पानका अनुसार अपर त्रिशूली–१ मा मात्र ५७६ कामदारको अवस्था अज्ञात छ र सुरुङभित्र फसेको आशंकामा तत्काल उद्धार आवश्यक छ। ऊर्जा मन्त्रालय र नेपाल विद्युत् प्राधिकरणले थप हेलिकप्टर पठाएर नुवाकोट र रसुवाका आयोजनामा फसेका कर्मचारी तथा मजदुरको उद्धार प्रक्रिया तीव्र बनाएका छन्। १२ भदौँ, काठमाडौं।

बाढी र पहिरोका कारण निर्माणाधीन तथा सञ्चालन भइरहेका आयोजनाहरू प्रभावित हुँदा सयौँ कामदार संकटमा परेका छन्। स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इप्पान) का अनुसार बाढीले १३ जलविद्युत् आयोजनामा प्रत्यक्ष क्षति पुगेको छ। ती आयोजनामा कार्यरत ९ सय ३३ जना सम्पर्कविहीन भएका थिए। उनीहरूमध्ये २ सय ५४ जनाको उद्धार भइसकेको छ भने केही सम्पर्कमा आए पनि धेरै संख्या अझै सम्पर्कविहीन छन्।

इप्पानका वरिष्ठ उपाध्यक्ष उत्तम भ्लोनका अनुसार अहिले निजी क्षेत्रका आयोजनासँगै सरकारी तथा निजी सबै किसिमका आयोजनाहरू प्रभावित भएका छन्। ‘सोचेभन्दा बढी क्षति भएको छ, अहिले सबैको ध्यान उद्धार र राहतमा केन्द्रित रहेको छ,’ उनले भने। लाङटाङ हाइड्रो, अपर त्रिशूली, त्रिशूली–३ ‘बी’ र चिलिमे लगायत आयोजनामा तत्काल उद्धार आवश्यक रहेको छ। तर, सडक र सञ्चार सम्पर्क बिहीबारसम्म पूर्ण रूपमा विच्छेद भएकाले उद्धार कार्यमा कठिनाइ भएको छ।

उद्धारका लागि निजी हेलिकप्टर प्रयोग गर्ने प्रयास भए पनि आयोजनास्थलमा अवतरण गर्ने ठाउँ अभाव र अन्य प्राविधिक तथा सुरक्षा कारणले समस्या भईरहेको छ भ्लोनले जनाए। ‘जसले उद्धार भएर बाहिर आएका छन्, उनीहरूसँग मात्रै सम्पर्क भइरहेको छ, माथि जान सडक छैन, मोबाइल पनि चल्दैन,’ उनले बताए। इप्पानले आयोजनामा फसेकाहरूको अवस्थाबारे सरकार, नेपाली सेना र नेपाल प्रहरीलाई निरन्तर जानकारी गराइरहेको जनाएको छ। उद्धार तथा राहतका लागि संस्थागत रूपमा पनि सहयोग जुटाउने तयारी भइरहेको इप्पानका वरिष्ठ उपाध्यक्ष भ्लोनले थपे।