Skip to main content

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा करिब २ अर्ब रुपैयाँभन्दा बढी सहयोग रकम संकलन

१२ भदौ, काठमाडौं । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग आह्वान गरेको ३६ घण्टाभित्र १ अर्ब ९१ करोड रुपैयाँभन्दा बढी रकम संकलन भएको छ। अर्थ मन्त्रालयका अनुसार बुधबार मध्याह्नदेखि बिहीबार मध्यरातसम्म उक्त कोषमा यो रकम जम्मा भएको हो। विभिन्न १० वाणिज्य बैंकहरूमा रहेको खातामा दाताहरूले जम्मा गरेको रकम १ अर्ब ९१ करोड ८६ लाख ५० हजार ९११ रुपैयाँ पुगेको छ।

बुधबार बिहान नेपाल-चीन सीमा नजिकैको भोटेकोशी नदीमा आएको भीषण बाढीले ठूलो क्षति पुर्‍याएपछि सरकारले मन्त्रिपरिषद् बैठक बसेर प्रभावित क्षेत्रलाई संकटग्रस्त क्षेत्र घोषणा गरेको थियो। त्यसपछि राहत कोषमा मनकारी व्यक्ति र संस्थाहरूबाट सहयोग संकलन हुन थालेको छ। सरकारले प्रधानमन्त्री राहत कोषमा रकम जम्मा गर्न र समन्वय गर्न अर्थ मन्त्रालयलाई फोकल मन्त्रालयको रूपमा चयन गरेको छ।

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले संस्थागत तर्फ एक करोड रुपैयाँ वा सोभन्दा बढी रकम सहयोग गर्ने दाताहरूको रकम आफैंमार्फत् स्वीकृत गरिरहेका छन्। त्यस्तै, व्यक्तिगत तर्फको नगद सहयोग दाताहरू मन्त्रालयमै आएर दिन सक्ने व्यवस्था गरिएको छ। यसका साथै कोषमा जम्मा बचत रकम ४ अर्ब ९ करोड ११ लाख ६० हजार पुगेको छ। यसअघि उक्त कोषमा २ अर्ब १७ करोड २५ लाख ९ हजार ७५९ रुपैयाँ रकम रहेको थियो। बिहीबार ६ घण्टाको अवधिमा नेपालका निजी क्षेत्रका दाताहरूले मन्त्रालयमार्फत २७ करोड ३३ लाख रुपैयाँ सहयोग उपलब्ध गराएका थिए। उल्लेखनीय छ कि यो रकममा विभिन्न मित्र राष्ट्रहरूबाट घोषणा भएको रकम समावेश गरिएको छैन।