Skip to main content

एनसेलले बाढी प्रभावित क्षेत्रमा निःशुल्क भ्वाइस, डेटा र एसएमएस सेवाको अवधि सात दिन थप्यो

१२ भदौ, काठमाडौं। एनसेलले बाढी प्रभावित क्षेत्रमा सञ्चार, खोज, उद्धार तथा राहत वितरण सहज बनाउन प्रदान गरिरहेको निःशुल्क भ्वाइस, डेटा र एसएमएस सेवाको अवधि थप सात दिनसम्म लम्ब्याएको छ। यसअनुसार प्रभावित क्षेत्रमा भोलि शनिबारदेखि लागू हुने गरी थप एक हप्ता यी सेवाहरू निःशुल्क उपलब्ध रहनेछन्। यसअघि बुधबार एनसेलले रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीबाट प्रभावित क्षेत्रहरूमा तीन दिनसम्पत निःशुल्क डेटा, अल नेट भ्वाइस र १०० वटा निःशुल्क एसएमएस सेवा उपलब्ध गराउने घोषणा गरेको थियो। ती तीन दिने सेवा अवधि आज समाप्त हुँदैछ।

विपद्को समयमा सञ्चार सेवाले सूचना आदानप्रदान, आपसी समन्वय तथा उद्धार र राहत वितरणका कार्यलाई प्रभावकारी बनाउने महत्वपूर्ण भूमिका खेल्दछ। प्रभावित समुदायका सर्वसाधारणलाई परिवार, आफन्त तथा उद्धार र राहतका टोलीसँग सहज सम्पर्कमा राख्नका लागि कम्पनीले उक्त निःशुल्क सेवा अवधि थप गरेको जनाएको छ। “हाम्रो यो योगदानले प्रभावित समुदायलाई विपद्का बेला आफ्ना परिवार तथा आफन्तसँग सम्पर्कमा रहन र उद्धार तथा राहतमा खटिएका टोलीलाई आवश्यक समन्वय गर्न सहज हुनेछ भन्ने हामी विश्वास लिएका छौं,” एनसेलका प्रमुख उपभोक्ता व्यवसाय अधिकृत उपांग दत्तले बताए।

कम्पनीले बाढीका कारण प्रभावित क्षेत्रमा अवरुद्ध भएका आफ्ना १८ वटा मोबाइल टावर पुनः सञ्चालनमा ल्याएको उल्लेख गरेको छ। साथै थप ९ टावरको पुनःसञ्चालनका लागि पनि कार्य भइरहेको छ। एनसेलले खोज, उद्धार, राहत तथा पुनःस्थापना कार्यमा सहयोग पुर्‍याउने उद्देश्यले बिहीबार प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा एनसेल फाउन्डेसनमार्फत रु. १ करोड सहयोग पनि प्रदान गरेको छ। साथै, बाढी प्रभावित क्षेत्रका सर्वसाधारणलाई सुरक्षित रहन सम्बन्धित निकायले जारी गरेका सुरक्षा निर्देशनहरू पालन गर्न पनि आग्रह गर्दै एनसेलले एसएमएस तथा सामाजिक सञ्जाल पेज र अकाउन्टमार्फत आवश्यक सूचना वितरण गर्दै आएको छ।