Skip to main content

भोटेकोशी-त्रिशूली बाढी: सम्पर्कबिहीनको संख्या ८२६, तथ्यांक संकलन प्रक्रिया

भोटेकोशी र त्रिशूली नदीमा बुधबार आएको बाढीपछि सम्पर्कबिहीन हुनेहरूको संख्या ८२६ पुगेको अधिकारीहरूले बताएका छन्। तिनीहरूको खोजीका लागि सुरक्षा निकायका हेलिकप्टरदेखि गोताखोरहरूसम्म परिचालन गरिएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ। बुधबार बिहान तिब्बत हुँदै आएको नदीमा अचानक आएको भीषण बाढीका कारण रसुवा, नुवाकोट, धादिङ, गोरखा र चितवन लगायतका जिल्लाहरू प्रभावित भएका छन्। विभिन्न स्थानहरूमा शवहरू फेला पर्ने क्रम जारी छ। प्राधिकरणकी प्रवक्ता शान्ति महतका अनुसार पर्यटक तथा विभिन्न निकायका सुरक्षाकर्मीहरू सहित ८२६ जना सम्पर्कबिहीन भएका छन्। तीमध्ये ५७९ जना पर्यटक छन्। “कतिपय व्यक्तिहरू कतै सुरक्षित ठाउँमा बसेका हुन सक्छन्, टेलिफोन सम्पर्क नभएका कारण अप्ठेरोमा पनि परेको हुन सक्छ, त्यसैले हामीले त्यो सङ्ख्या ‘बेपत्ता’ भनेका छैनौं। अहिले सम्पर्कबिहीनको सूचीमा रहेका व्यक्तिहरू पछि सुरक्षा साथ भेटिन सक्छन्,” उनले बताइन्।

नेपाली सेनाले चीनसँगको सिमानाजवटको रसुवाको टिमुरे क्षेत्रबाट हराइरहेका केही विदेशीसहित १०० भन्दा बढीलाई बिहीबार सकुशल उद्धार गरिएको जनाएको छ। “बिहानदेखि ११ बजेसम्म टिमुरे तथा मैलुङ इलाकाबाट २० विदेशीसहित १२५ जनाको हवाई उद्धार गरिएको छ,” सेनाले जारी गरेको पछिल्लो सूचनामा भनिएको छ। त्यस्तै रसुवाकै हाकुस्थित जलविद्युत् आयोजनाको सुरुङमा फसेका सात जनाको पनि सकुशल उद्धार गरिएको सेनाले जनाएको छ। प्राधिकरणकी प्रवक्ता महतका अनुसार सम्पर्कबिहीन हुनेहरूको संख्या सबैभन्दा धेरै रसुवामा छ। “त्यसमध्ये सुरक्षा निकायका व्यक्ति पनि छन्। रसुवाबाट मात्रै सेनाका ४४ जना, प्रहरी २८ र सशस्त्रका १३ जना सम्पर्कबिहीन छन्। पर्यटक ४६६ जना र अन्य १६१ जना हराइरहेका छन्,” उनले भनिन्।

प्राधिकरणले प्रदेश तथा जिल्लाका आपत्कालीन कार्यसञ्चालन संयन्त्रमार्फत् हताहत हुनेहरूको संख्या अद्यावधिक गर्ने गरेको छ। यस्ता संवेदनशील तथ्यांकलाई भरपर्दो रूपमा अद्यावधिक राख्न ती संयन्त्रलाई पनि अद्यावधिक गर्ने प्रयास भइरहेको छ, प्रवक्ता महतले बताइन्। “आजदेखि एक-एक घण्टामा तथ्यांकहरू अद्यावधिक गराउने व्यवस्था मिलाइएको छ। सोही अनुसार विपद् प्राधिकरणको फेसबुक पेज र वेबसाइटहरूमा पनि अद्यावधिक राखिरहेका छौँ।”