
बुधवार बिहान रसुवामा अचानक आएको भीषण बाढीको घटनापछि तल्लो तटीय क्षेत्रका बासिन्दाहरूलाई सतर्क रहन सरकारले आह्वान गर्यो। यति ठूलो क्षति हुने अवस्थाबारे नेपाल र चीन दुवैले पूर्व जानकारी दिन सकेको देखिएन। जल तथा मौसम विज्ञान विभागका अनुसार, चीन र नेपालबीच मौसमसम्बन्धी सूचना आदानप्रदान गर्ने संयन्त्र भए पनि यो घटनाबारे पूर्व जानकारी नआएको हो।
बाढीको घटनापछि केही घण्टामा चीनका प्रधानमन्त्री ली चियाङले तिब्बतमा भएको विपद्मा ‘उल्लेख्य’ क्षति पुर्याएको भन्दै ‘पूर्ण आकारको उद्धार कार्य’मा जुट्न निर्देशन दिएका थिए। तर, नेपालमा बाढीको कारण के हो भन्नेबारे तिब्बती अधिकारीहरूसँग सम्पर्क गर्दा यकिन जानकारी प्राप्त गर्न सकेको छैन। विभागकी वरिष्ठ मौसमविद् विभूति पोखरेलले भनिन्, “हामी उहाँहरू (चिनियाँ अधिकारी)सँग सम्पर्कमा छौँ तर अहिलेसम्म उहाँहरूले पनि के कारण हो भन्न सक्नुभएको छैन।”
विज्ञहरूले सुझाव दिएका छन् कि नेपाल-चीन सिमानामा सूचना आदानप्रदान गर्न सकेको भए जनधनको क्षतिलाई न्यूनीकरण गर्न सकिने थियो। भोटेकोशी नदीमा आएको बाढीपछि जिल्ला विपद् व्यवस्थापन समितिले अन्तर्देशीय पूर्वसूचना प्रणाली स्थापना गर्नुपर्ने सुझाव दिएको छ। यस प्रणालीले बाढी, हिमताल फुट्ने वा अन्य सम्भावित विपद्बाट पूर्व जानकारी उपलब्ध गराई जनधनको क्षति न्यूनीकरणमा मद्दत गर्नेछ।
तिब्बततर्फ मौसमी घटनाबारे सूचना दिने संयन्त्रको अवस्था के छ भन्ने प्रश्नमा पोखरेलले भनिन्, “सूचना आउने संयन्त्र छ। तर त्यो ठाउँमै भएको हो भने त्यहाँ पनि सूचना छ कि छैन भन्ने हो।” विपद् प्राधिकरणकी प्रवक्ता शान्ति महतले चीनसँग अन्तर्देशीय सूचना आदानप्रदानबारे छलफल गर्नुपर्ने बताइन्। उनले भनिन्, “हामीलाई बाढी आइसकेपछि मात्रै थाहा भएको छ।”






