Skip to main content

रसुवा बाढी: सडक र पुलमा १५ अर्ब रुपैयाँभन्दा बढीको प्रारम्भिक क्षतिपूर्ति अनुमान

सूचना अनुसार बुधबार आएको विनाशकारी बाढीले सडक र पुलसम्बन्धी पूर्वाधारमा १५ अर्ब रुपैयाँभन्दा बढीको प्रारम्भिक क्षति पुगेको सडक विभागका प्रमुखले बताएका छन्। “कुल १९ वटा पुल र ४० किलोमिटर सडकमा १५ अर्ब रुपैयाँभन्दा बढीको क्षति भएको प्रारम्भिक अनुमान छ,” विभागका महानिर्देशक विजय जैसीले भने। तर, बाढीले पुर्‍याएको क्षतिको यकिन विवरण आउन केही समय लाग्ने अधिकारीहरूले बताएका छन्।

ठूल्ठूला पुल बगेका ठाउँमा बिहीबारदेखि बेलिब्रिज राख्ने तयारी गरिँदैछ, उनले जानकारी दिए। “हामीसँग उपलब्ध बेलिब्रिजहरू छन् र मित्र राष्ट्र भारत तथा चीनलाई पनि उपलब्ध गराउन अनुरोध गरिसकेका छौँ,” जैसीले थपे। दुई देशबाट के कति बेलिब्रिज माग गरिएको हो भन्ने विषयमा हालसम्म कुनै विवरण सार्वजनिक गरिएको छैन। बुधवार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाली समकक्षी वालन्द्र शाह ‘बालेन’सँग कुराकानी गर्दै सहयोगका लागि तयार रहेको बताएका छन्।

“नेपाललाई सम्भावित सबै प्रकारका मानवीय सहायता उपलब्ध गराउन भारत तयार छ। उद्धार तथा राहत कार्यमा हाम्रा टोलीहरू नजिकबाट समन्वय गरिरहेका छन्,” मोदीले सामाजिक सञ्जालमा बताएका छन्। अकस्मात आएको विनाशकारी बाढीले विभिन्न सडकखण्डमा ठूलो क्षति पु¥याएको विभागले जनाएको छ। विभागका महानिर्देशक जैसीका अनुसार बाढीपछि स्याफ्रुबेँसी-रसुवागढी सडक सम्पर्क पूर्ण रूपमा विच्छेद भएको छ।

पुनर्निर्माण नसकिँदै फेरि क्षतिग्रस्त वर्षाको बाढीपछि चिनियाँ सहयोगमा निर्माण भइरहेको सडकखण्ड फेरि बाढीको चपेटामा परेको छ। “निर्माणाधीन उक्त सडकमा क्षतिको स्तर कति छ भन्ने कुरा अहिले ठ्याक्कै भन्न सकिंदैन,” जैसीले भने। त्यसैगरी गल्छी-बैरेनी सडकखण्ड पनि बाढीले अवरुद्ध भएको छ। लेदो हटाउन कठिनाइ भइरहेको अधिकारीहरूले जनाएका छन्। सडक विभागका अधिकारीहरूका अनुसार बाढीपछिको विदुर-तादीखोला सडकखण्डमा पनि लेदो हटाउन समस्या भइरहेको छ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार प्रारम्भिक रूपमा तिब्बतमा पहिला हिउँपहिरोले नदी थुनिएको र अहिले हिउँ पग्लिएपछि रसुवामा बाढी आएको अनुमान गरिएको छ। अधिकारीहरूले बाढी प्रभावित पृथ्वी राजमार्ग, गल्छी-नुवाकोट-रसुवा स्याफ्रुबेँसी सडक, मुग्लिङ-नारायणगढ लगायतका सडकहरूमा यात्रा नगर्न आग्रह गरेका छन्।