Skip to main content

परिसंघका सदस्यहरूले दैवी प्रकोप उद्धार कोषमा ५ करोड २९ लाख रुपैयाँ सहयोग गरे

नेपाल उद्योग परिसंघले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सदस्य संस्थाबाट ५ करोड २९ लाख १५ हजार रुपैयाँ सहयोग हस्तान्तरण गरेको छ। अध्यक्ष वीरेन्द्रराज पाण्डेको नेतृत्वमा रहेको टोलीले शुक्रबार अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई विभिन्न संस्थाको चेक बुझाएको छ। परिसंघले सदस्य संस्था र उद्योगी–व्यवसायीहरूलाई रसुवा बाढी प्रभावितको उद्धार, राहत तथा पुनर्स्थापनामा सहयोग गर्न आग्रह गरेको छ।

अर्थमन्त्री वाग्लेलाई एमएडब्लू समूहबाट परिसंघका पूर्वअध्यक्ष विष्णुकुमार अग्रवालले १ करोड ११ लाख, परिसंघको गभर्निङ काउन्सिल सदस्य उद्योगी विजयकुमार शाहले १ करोड रुपैयाँको चेक हस्तान्तरण गरेका छन्। जावलाखेल डिस्टिलरी, हिमालयन डिस्टिलरी र हिमालयन बुलियन कम्पनीले पनि १ करोड रुपैयाँ सहयोग प्रदान गरेका छन्। चौधरी समूह र नबिल बैंकबाट १५ करोडभन्दा बढी रकम प्राप्त भएको छ।

नेपाल आदर्श निर्माण कम्पनीले १० लाख रुपैयाँ सहयोग गर्ने प्रतिबद्धता जनाएको छ। गुड होम प्रडक्ट्स, ब्रिटिस कलर इन्डस्ट्रिज, लाङटाङ री ट्रेडिङ, कास ट्रेडिङ र सिल्भर लाइनिङले पनि विभिन्न रकमको आर्थिक सहयोग गरेका छन्। यसअघि गोरखा ब्रुअरीले १० करोड रुपैयाँ राहत कोषमा सहयोग गरेको थियो। परिसंघले आगामी दिनमा पनि रसुवा बाढी प्रभावित क्षेत्रको उद्धारमा सहयोग गर्न आग्रह जारी राख्ने जनाएको छ।