Skip to main content

‘हामीलाई शव चाहिन्छ वा सास’ – नुवाकोट माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजनामा फसेका आफन्तहरूको गुनासो

बाढीपछिको अवस्था पाँच दिनसम्म नखुलेपछि नुवाकोटको माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजनामा फसेका आफन्तहरूले तत्काल उद्धार र जानकारीको माग गरेका छन्। सञ्चालन कम्पनीका अनुसार आयोजनाको सुरुङभित्र ५७६ कामदार र मैलुङ साइट कार्यालयमा रहेका ७५ जनामध्ये केही सम्पर्कविहीन छन्। कम्पनीले उद्धारका लागि ५ वटा हेलिकोप्टर तयारी अवस्थामा राखेको भए तापनि सरकारले अनुमति नदिएको दाबी गरेको छ। १४ भदौ, काठमाडौं।

बाढीका कारण नुवाकोटमा निर्माणाधीन २१६ मेगावाट क्षमताको माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजनामा फसेका आफन्तहरूको अवस्था पाँच दिन बितिसक्दा पनि यकिन हुन नसकेपछि परिवारका सदस्यहरू आक्रोशित बनेका छन्। फसेकाहरूको उद्धारमा ढिलाइ भएको भन्दै उनीहरूले काठमाडौंको थापाथलीस्थित नेपाल वाटर एन्ड इनर्जी डेभलपमेन्ट कम्पनी (एनडब्लूईडीसी) को कार्यालयमा पुगेर तत्काल विवरण सार्वजनिक गर्न माग गरेका छन्। ‘हाम्रा मान्छे जीवित छन् भने उद्धार गर, छैनन् भने लाश देऊ,’ आफन्तहरूले कम्पनीका प्रतिनिधिसँग गम्भीर आक्रोश व्यक्त गरेका छन्।

माथिल्लो त्रिशूली–१ को प्रवद्र्धक एनडब्लुईडीसी हो। यस कम्पनीले दक्षिण कोरियाको कोरिया साउथ–इस्ट पावर कर्पोरेसन, केआईएनडी, आईएफसी लगायत साझेदार कम्पनीसँग मिलेर आयोजना निर्माण गरिरहेको छ। कम्पनीका अनुसार आयोजनाको सुरुङमा मात्र ५७६ जना कामदार फसेका छन्। त्यसैगरी मैलुङमा रहेको साइट कार्यालयमा रहेका केही व्यक्ति पनि सम्पर्कविहीन छन्। साइट कार्यालयमा ७५ जना रहेका थिए, जसमध्ये कतिपयको अवस्था अज्ञात रहँदा उनीहरूका आफन्तहरू आक्रोशित भएका छन्।

‘पाँच दिनदेखि आश्वासन मात्रै’ आफ्ना जेठान दीपक खरेल साइट कार्यालयमा फसेको भन्दै विराटनगरबाट काठमाडौं आएका एक आफन्तले पाँच दिनसम्म स्थिति पत्तालगाउन नसक्नु कम्पनी र सरकारको लाचारपन भएको बताए। उनले कम्पनीले मात्र पाँच दिनदेखि आश्वासन दिइरहेको आरोप लगाए। ‘अहिलेसम्म हामीलाई केही भएको छैन भनेर झुक्याउने काम भइरहेको छ। पाँच दिन भइसक्यो, आश्वासन मात्रै छ,’ उनले भने, ‘हामीलाई सास चाहिन्छ कि शव? हाम्रो मान्छेको अवस्था के हो, त्यसको यकिन विवरण चाहियो।’