Skip to main content

सरकारले विपद् आएको पाँच दिनपछि विदेशी उद्धारकर्तालाई खटायो

रसुवा बाढीपछि सरकारले ढिला अनुमति दिएपछि भारतीय र चिनियाँ उद्धार टोलीले ५ दिनपछि मात्र सुरुङ उद्धार सुरु गरेका छन्। जलविद्युत् आयोजनाका सुरुङमा करिब ६ सय जना फसेको अनुमान छ, तर अहिलेसम्म नेपालले सुरुङमा फसेकाको उद्धार गर्न सकेको छैन। चिलिमे, अपर त्रिशूली–१ र लाङटाङ आयोजनामा उद्धार सुरु भएको छ भने चिलिमेमा फसेका ६ मध्ये २ जनाको शव निकालिएको छ।

नेपाल सरकारले अत्यन्त ढिलो अनुमति दिएको कारण भारत र चीनबाट आएका उद्धारकर्ताहरूले बाढी आएको पाँच दिनपछि मात्रै सुरुङ उद्धारमा काम सुरु गरेका छन्। रसुवा बाढीले विभिन्न जलविद्युत् आयोजना सुरुङहरूमा करिब ६ सय जना मानिस फसेको अनुमान गरिएको छ तर अहिलेसम्म नेपालले उद्धार गर्न सकेको छैन। पटक पटक अनुरोध पश्चात पनि सरकारले सुरुङमा फसेका कर्मचारी र कामदारलाई उद्धार गर्न सकेको छैन भनेर जलविद्युत् आयोजनाले बताएका छन्।

आइतबारदेखि चिलिमे, अपर त्रिशूली–१ र लाङटाङ जलविद्युत् आयोजनामा उद्धार सुरु गरिएको छ। बाढी आएको पाँच दिनपछि आइतबार माथिल्लो त्रिशूली–थ्री ए परियोजनाको सुरुङ पत्ता लागे पनि अहिलेसम्म उद्धार थालिएको छैन। सरकारको अस्वाभाविक ढिलाइका कारण सुरुङमा फसेकाहरूको जीवन जोखिममा परेको विज्ञहरूले बताएका छन्। रसुवा बाढीको उद्धारका लागि आएको चिनियाँ उद्धार टोली २१६ मेगावाट क्षमताको अपर त्रिशूली–१ (यूटी–वान) आयोजनामा उद्धारमा संलग्न रहेको परराष्ट्र मन्त्रालय स्रोतले जनाएको छ।

सो आयोजना चिनियाँ ठेकेदार चाइना रेलवेको समन्वयमा उद्धार टोली गएको थियो। ९ सदस्सीय टोली प्रभावित क्षेत्रमा खटिएको परराष्ट्र स्रोतले जानकारी दिएको छ। त्रिशूली क्यारिडोरकै सबैभन्दा ठूलो निर्माणाधीन परियोजना यूटी–वानमा आइतबारदेखि मात्र उद्धार सुरु भएको छ। यस आयोजनामा करिब ६ सय जना अझै सम्पर्कविहीन छन्। तिनीहरू मध्ये ४ सय जना सुरुङमा फसेको सम्भावना रहेको निर्माण कम्पनी नेपाल वाटर एण्ड इनर्जीका प्रमुख कार्यकारी अधिकृत गिरिराज अधिकारीले बताए।