गण्डकी प्रदेशले बाढी पीडितका लागि एक लाख देखि ५० हजार रुपैयाँ क्षतिपूर्ति दिने निर्णय

गण्डकी प्रदेश सरकारले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ४ करोड रुपैयाँ जम्मा गर्ने निर्णय गरेको छ। मन्त्रिपरिषद्ले मृतक र बेपत्ता परिवारलाई १ लाख रुपैयाँ र मृतकका परिवारलाई २५ हजार रुपैयाँ काजकिरिया खर्च दिने निर्णय गरेको छ। बाढीमा घाइते व्यक्तिलाई ५० हजार रुपैयाँ उपचार खर्च दिने तथा हवाई मार्गबाट पोखरा आउनेलाई घरसम्म पुर्याउने निर्णय पनि सरकारले गरेको छ।
१५ भदौ, पोखरा। गण्डकी प्रदेश सरकारले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ४ करोड रुपैयाँ प्रदान गर्ने निर्णय गरेको छ। आज बसेको मन्त्रिपरिषद् बैठकले कोषमा रकम जम्मा गर्ने, घाइते भएका प्रदेशका नागरिकलाई उपचार खर्च उपलब्ध गराउने र मृतकका परिवारलाई एक लाख रुपैयाँ दिने निर्णय गरेको सरकारी प्रवक्ता तथा अर्थमन्त्री जितबहादुर शेरचनले जानकारी दिएका छन्।
‘आजको मन्त्रिपरिषद् बैठकले ४ करोड रुपैयाँ प्रधानमन्त्री विपद् कोषमा जम्मा गर्ने निर्णय गरेको छ। मृतकका परिवारलाई एक लाख रुपैयाँ दिने र बेपत्ता परिवारलाई पनि एक लाख रुपैयाँ दिने निर्णय गरेका छौं,’ शेरचनले भने, ‘मृतकका परिवारलाई २५ हजार रुपैयाँ काजकिरिया खर्चको पनि व्यवस्था गरिएको छ।’ साथै, बाढीमा घाइते भएका व्यक्तिलाई उपचारका लागि ५० हजार रुपैयाँ दिइने पनि निर्णय गरिएको छ।
गण्डकी प्रदेश सरकारले पृथ्वीराजमार्गअन्तर्गत धादिङको कृष्णभिरमा पहिरोले सडक मार्ग अवरुद्ध भएकाले हवाई मार्गबाट पोखरा आउनेलाई घरसम्म पुर्याउने प्रबन्ध पनि गरेको छ। शेरचनले निजी क्षेत्र, संघसंस्था र राजनीतिक दलहरूलाई एकजुट भएर विपत् सामना गर्न सरकारको अपिल समेत गरेका छन्।






