रसुवागढी सुरुङभित्र कोही फेला परेनन्, सरकारको दाबी र ड्युटीमा रहेका ३ जनाको अवस्था बेपत्ता

रसुवा भोटेकोशीमा आएको बाढीपछि रसुवागढी जलविद्युत् आयोजनाको सुरुङमा खोजी गर्दा कोही पनि फेला नपरेको नेपाली सेनाले जनाएको छ। बाढीको बेला भूमिगत विद्युत गृहभित्र ड्युटीमा रहेका किशोर न्यौपाने, सन्तोष पौडेल र छिरिङ तामाङ अझै सम्पर्कविहीन छन्। आयोजनाका अनुसार बाढीपछि ९३ कर्मचारी र श्रमिक सम्पर्कविहीन रहेका छन् जसमा कम्पनीका कर्मचारी, ज्यालादारीमा रहेका कामदार र निर्माण कम्पनीका कामदार पनि समावेश छन्। १५ भदौ, काठमाडौं।
रसुवा भोटेकोशी नदीमा आएको बाढीले प्रभाव पारेपछि १ सय ११ मेगावाट क्षमताको रसुवागढी जलविद्युत् आयोजनाको सुरुङभित्र मानिस फसेको आशंकामा गरिएको खोजीमा कोही पनि नपरेको नेपाली सेनाले जनाएको छ। तर, बाढीको बेला सुरुङभित्र ड्युटीमा रहेका तीन जना कर्मचारी अझै सम्पर्कविहीन छन्। सुरुङको अन्तिम भागसम्म पुगेर नेपाली सेना, आयोजनाका इन्जिनियरहरू र ड्रोन टोलीले खोजी गर्दा पनि मानवीय उपस्थिती नदेखिएको दाबी गरिएको छ। कोही पनि फेला नपरेपछि उद्धार टोली धुन्चे फर्किएको छ।
तर, भूमिगत विद्युत गृहभित्र ड्युटीमा रहेका ती तीन कर्मचारीको अवस्था अझै अज्ञात छ। यसले उनीहरू बाढीको समयमा कहाँ गएका थिए भन्ने प्रश्न उठाएको छ। सुरुङभित्र खोजी गर्दा कोही नभेटिएको नेपाली सेनाको दाबी र बाढीको बेला त्यही भूमिगत विद्युत गृहमा ड्युटीमा रहेका तीन कर्मचारी सम्पर्कविहीन रहेको तथ्यले सरकारी खोज उद्धारमा नै प्रश्न उठाएको छ। आयोजनाका एक अधिकारीका अनुसार बाढीको बेला भूमिगत विद्युत गृहभित्र ती तीन जना कर्मचारी ड्युटीमा थिए।
बाढी आउँदा ड्युटीमा रहेका किशोर न्यौपाने (पाल्पा), सन्तोष पौडेल (प्युठान) र छिरिङ तामाङ (रसुवा) थिए। उनीहरूको अवस्था अझै अज्ञात छ। तर खोजी तथा उद्धार टोलीले कोही फेला नपरेको दाबी गरेको छ। बाढीको बेलामा भूमिगत विद्युत गृहभित्र रहेका ती तीन जनासँगै आयोजनाको बाहिरी क्षेत्रमा समेत कर्मचारी तथा श्रमिकहरू कार्यरत थिए। आयोजनाका अनुसार बाढीपछि हालसम्म ९३ कर्मचारी र श्रमिक सम्पर्कविहीन छन्।





