
अमेरिकाको सिअटलस्थित मोटो पिज्जामा प्रयोग भएका दुई रोबोटहरू आपूर्ति कम्पनी बन्द भएपछि बेकार परेका छन्। सिअटल शहरमा रहेको मोटो पिज्जा नामक रेस्टुरेन्टमा पिज्जाको पीठो मुछ्ने, सस हाल्ने र चिज छर्कने कामका लागि ती रोबोट प्रयोगमा थिए। रेस्टुरेन्टका मालिक ली किन्डेलले सोचेका थिए–अब पिज्जा बनाउन मान्छे चाहिँदैन, सबै काम मेसिनहरूले छिटो र प्रभावकारी रूपमा गर्दछन्। तर, गत मे महिनामा ती रोबोट आपूर्ति गर्ने प्रविधि कम्पनी अचानक बन्द भएसँगै, रोबोट निर्माण र मर्मतका प्राविधिक सहयोग पनि रोकियो। एक लाख ६० हजार अमेरिकी डलरभन्दा बढी खर्च गरी खरिद गरिएका ती ठूला मेसिनहरू अहिले रेस्टुरेन्टको कुनामा कामविहीन अवस्थामा राखिएका छन्।
तर, रोबोटहरूले पिज्जा बनाउन नसकेको यो पहिलो घटना होइन। पछिल्ला केही वर्षमा यस्ता धेरै कम्पनीहरू घाटा बेहोर्दै बन्द भएका छन्। जूम र पाजी जस्ता लोकप्रिय कम्पनीहरू जुन रोबोटका हातहरू प्रयोग गरेर पिज्जा बनाउन खोज्थे, असफल भएका छन्। त्यसैगरी पिज्जा दिने स्वचालित भेन्डिङ मेसिन बनाउने बेसिल स्ट्रिट कम्पनी पनि बन्द भएको छ। फास्ट फुड क्षेत्रमा काम सहज देखिए तापनि रोबोटका लागि यो अपेक्षाभन्दा धेरै चुनौतीपूर्ण काम रहेको छ।
रोबोटहरू किन सफल हुन सकेका छैनन्? बैङ्क अफ अमेरिकाकी रेस्टुरेन्ट विश्लेषक सारा सेनातोरका अनुसार खाना बनाउने रोबोटहरू अझै पूर्ण रूपमा परिपक्व र विकसित भएका छैनन्। ती रोबोटहरू कहिलेकाहीं अनौठो तरिकाले काम गर्छन्, जस्तै पिज्जामा सामग्रीहरू गलत ठाउँमा छर्किने। मान्छेहरूले भने धेरै सावधानीपूर्वक र सजग भएर काम गर्छन्। अर्को ठूलो कुरा, रेस्टुरेन्ट केवल खाना खाने ठाउँ मात्र होइन, राम्रो सेवा र आत्मीय वातावरणको आशा गर्ने स्थान हो। त्यसमाथि मान्छेले माया र मिहिनेतका साथ बनाएको पिज्जाको स्वाद फरक हुन्छ। रोबोटले खाना बनाउँदा ग्राहक र रेस्टुरेन्ट बीचको मानवीय सम्बन्ध पनि हराउने खतरा हुन्छ।
त्यस्तै, यदि रेस्टुरेन्टमा मान्छे नभएको बेलामा मेसिन बिग्रियो वा अड्कियो भने ग्राहकहरू निराश र आक्रोशित हुन्छन्। साथै, रोबोट बनाउने प्रमुख कम्पनी नै बन्द भयो भने ती उपकरणहरू पूर्णरूपले कबाडीमा परिणत हुन्छन्। यति धेरै असफलता र घाटा बेहोरे पनि केही व्यापारी र इन्जिनियरहरू भने अझै हार मान्न तयार छैनन्। मोटो पिज्जाका मालिक ली किन्डेल स्वयं थ्रीडी प्रिन्टर जस्तो काम गर्ने नयाँ पिज्जा रोबोट बनाउन लागिपरेका छन्। उनले विगतका असफलताबाट सिकेका पाठहरूको आधारमा अब बनाउने रोबोट प्रगतिशील र सक्षम हुने बताएका छन्। त्यस्तै, ओहायोको एउटा विमानस्थलमा एपिट्रोनिक्स नामक कम्पनीले २४ सै घण्टा पिज्जा बनाउने रोबोटिक युनिट सञ्चालनमा ल्याएको छ। उनीहरूले लेजर र अल्ट्रासाउन्ड प्रविधि प्रयोग गरेर आधा सेकेन्डमै सस हाल्ने र पिज्जा काट्ने तयारी गरिरहेका छन्। तर, यसको सफलताको परिणाम हेर्न बाँकी छ।





