सल्यानको एमएम एकेडेमीले बाढीपीडितलाई १ लाख २८ हजार रुपैयाँ आर्थिक सहयोग उपलब्ध गरायो

१७ भदौ, सल्यान । सल्यान जिल्ला, शारदा नगरपालिका-३ स्थित एमएम एकेडेमी प्रा. लि.ले बाढीपीडितका लागि १ लाख २८ हजार ८ सय ५ रुपैयाँ आर्थिक सहयोग जुटाउन सफल भएको छ। विद्यालयले संस्थागत सहयोगसँगै यहाँ कार्यरत शिक्षक कर्मचारी, अध्ययनरत विद्यार्थी तथा साहुटोल बजार क्षेत्रबाट रकम संकलन गरेको हो।
संकलित रकममा एमएम एकेडेमी प्रा. लि.बाट ३३ हजार ८ सय २० रुपैयाँ, शिक्षक र कर्मचारीबाट ३८ हजार ५ रुपैयाँ, विद्यार्थीबाट २९ हजार १५ रुपैयाँ र साहुटोल बजार क्षेत्रबाट २७ हजार ९ सय ६५ रुपैयाँ समावेश गरिएको छ। विद्यालयका सञ्चालक महेश देवकोटाले बाढीपीडितलाई सहयोग पु¥याउने उद्देश्यले विद्यालय परिवार र स्थानीय बजार क्षेत्रको सहकार्यमा रकम संकलन गरिएको बताए।
देवकोटाले विपद्को समयमा पीडितको दुःखमा साथ दिनु सामाजिक जिम्मेवारी भएकोले आफूहरूले सकेको सहयोग गरेको स्पष्ट पारेका छन्। संकलित १ लाख २८ हजार ८ सय ५ रुपैयाँ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिने निर्णय भएको जानकारी पनि उनले दिएका छन्।





