
नेपाल ए टिमले बुधबार भएको एकदिवसीय क्रिकेट खेलमा तास्मानियासँग २ विकेटले पराजित भएको छ। नेपालले तोकेको १९३ रनको लक्ष्य तास्मानियाले अन्तिम ओभरमा ८ विकेट गुमाएर पूरा गर्यो। नेपाल ए टिम ४३.३ ओभरमा १९२ रनमा अलआउट भएको थियो, जसमा तृतराज दासले सर्वाधिक ३७ रन बनाए।
तास्मानियाका लागि टम डायरले सर्वाधिक ६० रन बनाए भने राफ म्याकमिलनले ३२, जस्टिन गालोटीले २४, विल प्रेस्टविज र म्याथ्यु कुहनेमानले समान २३ रन बनाए। नेपाल ए टिमका लागि शाहब आलम र दीपक डुम्रेले समान २-२ विकेट लिँदा आकाश चन्द, रिजन ढकाल र पवन सर्राफले १-१ विकेट लिए।
टस हारेर पहिले ब्याटिङ गरेको नेपाल ए टिम ४३.३ ओभरमा १९२ रनमा अलआउट भएको थियो। तृतराज दासले सर्वाधिक ३७ रन बनाएका थिए भने मयन यादवले ३२, कुशल मल्लले २९ तथा पवन सर्राफले अविजित २२ रन बनाए। नेपालले यसअघि टप एन्ड टी-२० सिरिजमा पनि प्रतिस्पर्धा गरेको थियो जहाँ ६ मध्ये २ खेल मात्र जितेको थियो। नेपाल ए टिम फिलहाल शुक्रबार साउथ अस्ट्रेलियासँग र आइतबार न्यूजिल्यान्ड ए टिमसँग एकदिवसीय खेल खेल्नेछ।






