Skip to main content

चन्द्र र एरिका वर्षका उत्कृष्ट खेलाडीका रूपमा सम्मानित

नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) द्वारा आयोजित स्पोर्ट्स अवार्डमा बक्सिङका चन्द्रबहादुर थापालाई वर्षका उत्कृष्ट पुरुष खेलाडी र करातेकी एरिका गुरुङलाई वर्षकी उत्कृष्ट महिला खेलाडीका रूपमा चयन गरिएको छ। एरिका लगातार तेस्रो पटक उत्कृष्ट महिला खेलाडीको अवार्ड जित्ने पहिलो खेलाडी बनेकी छिन्। १८ भदौ, काठमाडौंमा सम्पन्न उक्त कार्यक्रममा भलिबलकी मिना सुनारले २९.०४ प्रतिशत मतसहित पिपल्स च्वाइस अवार्ड जितेकी छिन्। कराते प्रशिक्षक कुशल श्रेष्ठलाई उत्कृष्ट प्रशिक्षकको सम्मान प्रदान गरिएको छ।

एरिका गुरुङका प्रशिक्षक कुशल श्रेष्ठले एसियाली खेलकुदमा ऐतिहासिक पदक जित्न महत्वपूर्ण भूमिका निर्वाह गरेका छन्। उहाँले रेहान जाबेद, मनीषा कुमारी बोहोरा, सबिना श्रेष्ठ र पुष्पका लामालाई अन्तर्राष्ट्रिय प्रतियोगितामा पदक दिलाउन मद्दत गरेका प्रशिक्षक हुनुहुन्छ। लाइफटाइम अचिभमेन्ट अवार्ड पूर्व राष्ट्रिय ब्याडमिन्टन खेलाडी कुमार मोहन बहादुर शाहीलाई प्रदान गरिएको छ। उत्कृष्ट पारा खेलाडीको रूपमा ब्लाइन्ड महिला क्रिकेट टोलीकी सुस्मा तामाङलाई सम्मानित गरिएको छ।

कराते खेलाडी मनीषा कुमारी बोहोराले उत्कृष्ट युवा खेलाडी पुरस्कार प्राप्त गरेकी छन्। उनी २३ औं क्याडेट, जुनियर तथा यू–२१ कराते च्याम्पियनसिपकी कांस्य पदक विजेता र नवौँ दक्षिण एसियाली कराते च्याम्पियनसिप तथा ५६ औं राष्ट्रिय कराते च्याम्पियनशिपकी स्वर्ण पदक विजेता हुन्। बालाजु कराते डोजोका सञ्चालक, कराते प्रशिक्षक तथा कराते रेफ्री ध्रुव बिक्रम मल्ललाई विशेष पुरस्कार प्रदान गरिएको छ।