रसुवा बाढीले ४१ पक्की र ४५ झोलुङ्गे पुलमा क्षति पुर्यायो, नेपालमा बेलिब्रिजको अवस्था के छ?

रसुवा बाढीले दर्जनौं पक्की र झोलुङ्गे पुल बगाएपछि तत्काल तीन स्थानमा बेलिब्रिज जडान गर्ने निर्णय गरिएको छ। थप केही नदीमा पुल निर्माणका लागि अध्ययन भइरहेको अधिकारीहरूले बताएका छन्। पूर्वाधार विकास मन्त्रालयका सचिव गोपालप्रसाद सिग्देलले गाडी गुड्न मिल्ने सरकारी र केही जलविद्युत् आयोजनाअन्तर्गत ४१ वटा पक्की पुल, ४५ वटा झोलुङ्गे पुल र करिब ४० किलोमिटर सडक क्षतिग्रस्त भएको जानकारी दिए। उनले भने, “अहिले ती सबै पुल तत्काल बनाउन नसकिने भए पनि सम्पर्क पुनःस्थापना गर्न तीन स्थानमा बेलिब्रिज जडानको प्रक्रिया अघि बढिसकेको छ।”
सिग्देलका अनुसार आगामी समयमा बनाइने पुलहरूमा तादिमा गल्छी-नुवाकोट जोड्ने पुल, बेतरावतीमा रसुवागढी जाने बाटोको पुल र नुवाकोट बिदुरको त्रिशूली पुल समावेश छन्। सडक विभागका महानिर्देशक विजय जैसीले आफूले व्यवस्थापन गर्ने ३० वटा पुल क्षतिग्रस्त भएको र अन्य सम्भावित स्थानहरू पनि पहिचान गर्ने काम भैरहेको बताए। उनले भने, “टुङ्गो लागेका तीनवटा बाहेक, तत्काल धादिङबेसी जोडिने फुर्केखोलामा विभिन्न सम्भावना हेर्दैछौं। त्यहाँ ८० मिटर लामो बेलिब्रिज आवश्यक पर्छ जुन अहिले हाम्रो पासमा छैन।”
नेपालमा हाल सडक विभागसँग ११ वटा ५० मिटर लामो बेलिब्रिज छन् भने नेपाली सेनासँग ७६ मिटर लामो दुई प्रकारका बेलिब्रिज छन्। सचिव सिग्देलले भने, “हामीसँग उपलब्ध ती बेलिब्रिजले तत्काल अत्यावश्यक सम्पर्क सञ्जाल सुदृढ पार्न सकिने विश्वास छ।” उनले थपे, “भविष्यमा विस्तारै स्थायी पुल वा थप बेलिब्रिज जडान गर्ने योजना पनि छ।”
सडक विभागले पुल र सडकमा करिब ३० अर्ब रुपैयाँ बराबरको प्रारम्भिक क्षतिको अनुमान गरेको छ। अस्थायी स्वरूपका भए पनि नेपालमा बेलिब्रिज वर्षौंसम्म प्रयोगमा राखिएका छन्। अधिकारीहरूले भनेका छन् कि ती पुलहरूको निरन्तर निरीक्षण गरिँदै आएको छ र सामान्यतया एक-दुई वर्षसम्म प्रयोग गरिने विश्वास गरिएको छ।





