
नेपाल भलिबल लिगको पहिलो संस्करण आजदेखि काठमाडौंमा ६ टोलीबीच सुरु हुँदैछ। उद्घाटन खेलमा सगरमाथा स्म्यासर्स र मधेश वारियर्स अपराह्न ४ बजे दशरथ रंगशाला कभर्डहलमा खेल्दैछन्। एनभीएल विजेताले २० लाख रुपैयाँ पाउनेछन्, र प्रतियोगितामा १० देशका १८ विदेशी खेलाडी सहभागी छन्। १९ भदौ, काठमाडौं।
पुरुष भलिबलको बहुप्रतीक्षित फ्रेन्चाइज प्रतियोगिता नेपाल भलिबल लिग (एनभीएल) को पहिलो संस्करण आजदेखि काठमाडौंमा सुरु हुँदैछ। नेपाली भलिबललाई व्यावसायिक र फ्रेन्चाइज मोडलमा अघि बढाउने लक्ष्यका साथ आयोजना गरिएको यस प्रतियोगितामा ६ टोलीले प्रतिस्पर्धा गर्दैछन्। केडिया ग्रुपको आयोजनामा हुने लिगको उद्घाटन खेलमा आज सगरमाथा स्म्यासर्स र मधेश वारियर्स आमनेसामने हुँदैछन्। त्रिपुरेश्वरस्थित दशरथ रंगशाला कभर्डहलमा हुने खेल अपराह्न ४ बजे सुरु हुनेछ। पहिलो दिनको दोस्रो खेलमा अन्नपूर्ण स्पाइकर किंग्स र कर्णाली शिवराजबीच प्रतिस्पर्धा हुनेछ। उक्त खेल साँझ ७ बजे सुरु हुनेछ।
लिगको पहिलो दिनको टिकट बिक्रीबाट संकलित सम्पूर्ण रकम बाढीपीडितको सहयोगका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने आयोजकले पहिल्यै घोषणा गरिसकेको छ। एनभीएलमा सहभागी ६ टोलीले सिंगल राउन्ड रोबिन प्रणालीमा एकअर्काविरुद्ध प्रतिस्पर्धा गर्नेछन्। लिग चरणको समाप्तिप पछि शीर्ष स्थानमा रहने टोलीले सिधै फाइनलमा स्थान बनाउनेछ भने दोस्रो र तेस्रो स्थानमा रहने टोलीले फाइनल प्रवेशका लागि प्लेअफ खेल्नेछन्। एनभीएलको पहिलो संस्करणमा सगरमाथा स्म्यासर्स, मधेश वारियर्स, काठमाडौं रेड्स, अन्नपूर्ण स्पाइकर किंग्स, कर्णाली यशविस र खप्तड फाल्कन्स सुदूरपश्चिमले प्रतिस्पर्धा गर्नेछन्।
सर्वाधिक पुरस्कार राशी एनभीएलको विजेताले पाउने पुरस्कार रकम नेपाली भलिबल इतिहासमै सबभन्दा ठूलो पुरस्कार राशी हो। यसले गर्दा एनभीएलको पहिलो संस्करण अझ विशेष बन्ने निश्चित छ। च्याम्पियन बन्ने टोलीले २० लाख रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछ। आयोजकले लिगको कुल पुरस्कार राशि ३२ लाख रुपैयाँ रहेको जानकारी दिएका छन्। बाँकी १२ लाख उपविजेता देखि विधागत अवार्ड र प्लेअर अफ म्याचको पुरस्कारमा छुट्याइएको पनि जानकारी गराइएको छ। एनभीएल विजेता टोली नेपाली भलिबल इतिहासमा सर्वाधिक नगद पुरस्कार पाउने टोली बन्नेछ। यसका लागि हाल ६ टोली भिड्नेछन्।
१० देशका १८ विदेशी खेलाडी नेपाल भलिबल लिगको पहिलो संस्करणमा विदेशका चर्चित खेलाडीहरुको पनि उपस्थिति हुनेछ जसले प्रतियोगितालाई अन्तर्राष्ट्रिय रुपमा फैलाउन मद्दत गर्नेछ। प्रतियोगितामा १० देशका १८ विदेशी खेलाडी विभिन्न ६ फ्रेन्चाइज टोलीबाट खेलिरहेका छन्। पहिले नेपालमा अधिकांश पुरुष भलिबल प्रतियोगितामा विदेशी खेलाडीका रूपमा मुख्यतः भारत र पाकिस्तानका खेलाडीको उपस्थिति हुने गरेको थियो। तर यस लिगमा छिमेकी मात्र नभइ, एसियाली देशहरू मंगोलिया र इरानदेखि युरोप र ब्राजिलसम्मका खेलाडी सहभागी छन्। विभिन्न देशका फरक भलिबल संस्कृतिका खेलाडीहरूले नेपालको घरेलु कोर्टमा प्रतिस्पर्धा गर्दैछन्।
पाकिस्तानबाट सर्वाधिक पाँच खेलाडी छन् भने भारत र मंगोलियाबाट तीन–तीन खेलाडी खेल्दैछन्। त्यसैगरी इरान, रूस, पोल्यान्ड, बेलारुस, सर्बिया, ब्राजिल र बेनिनबाट एक–एक खेलाडीले एनभीएल खेल्न आएका छन्। नेपालमा हुने पुरुष भलिबल प्रतियोगिताको इतिहासमा यो पहिलो पटक यति ठूलो संख्यामा विदेशी खेलाडी एउटै प्रतियोगितामा सहभागी हुँदैछन्। साथै, पुरुष भलिबलमा १० विभिन्न देशका खेलाडीहरूको उपस्थिति यो पनि पहिलो हो। यसले नेपाली खेलाडीलाई अन्तर्राष्ट्रिय स्तरका खेलाडीसँग घरेलु कोर्टमै भिडन्त गर्ने मौका दिएको छ।
एनभीएलको नाराले “उचाईको नयाँ उडान” मानिन्छ र यस लिगले नेपालको पुरुष भलिबललाई व्यावसायिक स्तरमा नयाँ उचाइमा पुर्याउने तथा भलिबल विकासमा मद्दत पुग्ने अपेक्षा गरिएको छ। घरेलु कोर्टमा नयाँ उत्साह फ्रेन्चाइज टोली, खेलाडी अक्सनको माहोल, विदेशी खेलाडीको उपस्थिति र आकर्षक पुरस्कारका कारण एनभीएलको पहिलो संस्करणलाई नेपाली भलिबल समर्थक उत्साहका साथ पर्खिरहेका छन्। त्यो पर्खाइ अब सकिन लागेको छ। आजदेखि घरेलु कोर्टमा सुरु हुने यो प्रतियोगिताले नेपाली पुरुष भलिबलमा नयाँ अध्यायको सुरुवात गर्नेछ। नेपाल राष्ट्रिय टिमका खेलाडीहरूदेखि विदेशी खेलाडीहरूको जमघट रहेको यस लिगमा ट्यालेन्ट हन्टबाट आएका नयाँ प्रतिभाशाली खेलाडी पनि छन्। ती खेलाडीहरू अनुभवी खेलाडीसँग ड्रेसिङ रुम सयर गर्ने र कोर्टमा एक साथ खेल्ने लागि उत्साहित छन्। ६ फ्रेन्चाइज टोलीले ट्यालेन्ट हन्टमार्फत १९ वर्षमुनिका १-१ खेलाडीहरू आफ्नो टिममा समावेश गरेका छन्। उनीहरू नेपाली र विदेशी खेलाडीसँग सिक्ने ठूलो अवसर पाउने छन्।






