अन्नपूर्ण स्पाइकर किंग्सले लगातार तेस्रो जित दर्ता गर्दै शीर्ष स्थानमा कब्जा जमायो

अन्नपूर्ण स्पाइकर किंग्सले नेपाल भलिबल लिगमा खप्तड फाल्कन्स सुदूरपश्चिमलाई २५-१५, २५-१५, २९-२७ को सोझो सेटमा पराजित गर्दै लगातार तेस्रो जित दर्ता गरेको छ। अन्नपूर्णले ४ खेलबाट ९ अंकसहित शीर्ष स्थानमा उक्लेर फाइनलमा पुग्ने सम्भावना कायम राखेको छ। खप्तड फाल्कन्सका लागि यो लगातार चौथो हार हो र उनीहरूले बिहीबार काठमाडौं रेड्ससँग अन्तिम लिग खेलमा प्रतिस्पर्धा गर्नेछन्। २४ भदौ, काठमाडौं। अन्नपूर्ण स्पाइकर किंग्सले नेपाल भलिबल लिग (एनभीएल) मा लगातार तेस्रो जित हात पार्दै शीर्ष स्थानमा उक्लेको छ। त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषदको कभर्डहलमा बुधबार भएको खेलमा अन्नपूर्णले खप्तड फाल्कन्स सुदूरपश्चिमलाई सोझो सेटमा पराजित गरेको हो। अन्नपूर्णले खप्तडलाई २५-१५, २५-१५, २९-२७ ले पराजित गर्यो। सुरुवाती दुई सेट अन्नपूर्णको एकपक्षीय रूपमा आफ्नो पक्षमा परेको थियो। तेस्रो सेटमा खप्तडले केही चुनौती दिए तापनि अन्ततः अन्नपूर्णले टाईब्रेकमा जित हात पारेको हो। लगातार तीन खेल जितेको अन्नपूर्णले चार खेलबाट ९ अंक जोडेर शीर्ष स्थानमा पुग्न सफल भयो। पहिलो खेलमा कर्णाली शिवराजसँग पराजित भएपनि अन्नपूर्णले त्यसपछि काठमाडौं रेड्स र मधेश वारियर्सलाई पराजित गरेको थियो। यो जितले अन्नपूर्णलाई फाइनलमा पुग्ने सम्भावना पनि कायम राख्न मद्दत गरेको छ। अब अन्नपूर्णले बिहीबार लिग चरणको अन्तिम खेल सगरमाथा स्म्यासर्ससँग खेल्नेछ। खप्तडका लागि यो लगातार चौथो हार हो र उनीहरूले बिहीबार लिगको अन्तिम खेल काठमाडौं रेड्ससँग खेल्नेछन्। उही दिन दोस्रो खेलमा कर्णाली शिवराज र काठमाडौं रेड्सबीच मुकाबला हुनेछ।






