
काठमाडौँ रेड्सलाई ३-१ को सेटमा पराजित गर्दै कर्णाली शिवराज नेपाल भलिबल लिगको पहिलो संस्करणको फाइनलमा पुगेको छ। त्रिपुरेश्वरस्थित दशरथ रंगशाला कभर्डहलमा भएको प्लेअफ खेलमा कर्णालीले पहिलो, तेस्रो र चौथो सेट जित्यो। शनिबार अपरान्ह ४ बजे कर्णाली उपाधिका लागि अन्नपूर्ण स्पाइकर किंग्ससँग प्रतिस्पर्धा गर्नेछ।
२६ भदौ, काठमाडौं। कर्णालीले काठमाडौँ रेड्सलाई पराजित गर्दै पहिलो संस्करणको एनभीएल फाइनलमा आफ्नो स्थान सुरक्षित गरेको छ। दशरथ रंगशालास्थित कभर्डहलमा शुक्रबार भएको प्लेअफमा कर्णालीले काठमाडौँलाई ३-१ को सेटमा हरायो।
पहिलो सेट २५-२१ ले जित्दै कर्णालीले अग्रता बनायो। त्यसपछि काठमाडौँले दोस्रो सेट २५-२० को अन्तरले जित्दै खेल बराबरीमा ल्यायो। तेस्रो सेट कर्णालीले २५-२३ र चौथो सेट २५-२२ को अन्तरले जितेर समग्र खेल आफ्नो पक्षमा ल्यायो। यसले लिग चरणमा काठमाडौँसँग भोगेको हारको बदला समेत लिएको छ।
अब कर्णालीले उपाधिका लागि अन्नपूर्ण स्पाइकर किंग्ससँग प्रतिस्पर्धा गर्नेछ। अन्नपूर्ण टोली लिगमा शीर्ष स्थान हासिल गर्दै सिधै फाइनलमा पुगेको हो। फाइनल शनिबार अपरान्ह ४ बजे सुरु हुनेछ। केडिया समूहको आयोजनामा पहिलो पटक सम्पन्न भएको एनभीएलमा ६ फ्रेन्चाइज टोलीहरूले प्रतिस्पर्धा गरेका थिए। विजेताले नगद २० लाख रुपैयाँ पुरस्कार पाउनेछ।
फोटोहरू: विकास श्रेष्ठ






