Skip to main content

अन्नपूर्ण र कर्णाली आज एनभीएलको उपाधिका लागि भिड्दै

नेपाल भलिबल लिगको पहिलो संस्करणको उपाधिका लागि आज अन्नपूर्ण स्पाइकर किंग्स र कर्णाली शिवराजबीच प्रतिस्पर्धा हुँदैछ। अन्नपूर्ण लिग चरणमा शीर्ष स्थानमा रहँदै सिधै फाइनल पुगेको छ भने कर्णालीले प्लेअफमा काठमाडौं रेड्सलाई पराजित गर्दै फाइनल यात्रा तय गरेको छ। लिग चरणको पहिलो भेटमा कर्णालीले अन्नपूर्णलाई ३-१ ले हराएको थियो।

फाइनल खेल त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा अपरान्ह ४ बजेदेखि सुरु हुनेछ। अन्नपूर्णले लिग चरणमा ५ मध्ये ४ खेल जितेर १२ अंकसहित शीर्ष स्थानमा रह्यो। कर्णालीले पनि ४ खेल खेलेर ११ अंकसहित दोस्रो स्थानमा टालेको छ। कर्णालीले लिग चरणमा काठमाडौं रेड्सबाट मात्र हार बेहोरेको थियो।

अन्नपूर्णले फाइनलमा कर्णालीसँगको भिडन्तमार्फत बदला लिने अवसर पाएको छ भने कर्णालीले पहिलो खेलमा अन्नपूर्णलाई पराजित गरेको बलियो लय कायम राख्ने लक्ष्य राखेको छ। एनभीएलको विजेताले ट्रफी र २० लाख रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछ।