Skip to main content

आसिफको शतक र गुल्शनको अर्धशतकमा नेपालले बलियो योगफल तयार पार्‍यो

आसिफ शेखको १०२ रन र गुल्शन झाको ५२ रनमा नेपालले एसीसी प्रिमियर कप फाइनलमा यूएईविरुद्ध ५० ओभरमा ९ विकेट गुमाउँदै ३१३ रन बनाएको छ। आसिफले आफ्नो ओडीआई करियरको दोस्रो शतक बनाउँदै अर्जुन कुमालसँग पहिलो विकेटका लागि ९७ रनको साझेदारी गरेका थिए। फाइनल जितेमा नेपाल एसिया कपका लागि छनोट हुनेछ। २७ भदौ, काठमाडौं।

आसिफ शेखको शतक र गुल्शन झाको अर्धशतकको सहयोगमा नेपालले एसीसी प्रिमियर कपको फाइनलमा यूएईविरुद्ध बलियो योगफल तयार पारेको छ। वायुमास क्रिकेट ओभलमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले ५० ओभरमा ९ विकेट गुमाएर ३१३ रनको ठोस योगफल बनाएको हो। आसिफ शेखले १०६ बलमा ८ चौका र ४ छक्कासहित १०२ रन बनाए। गुल्शनले ३८ बलमा ३ चौका र ४ छक्कासहित ५२ रन जोड्दै उत्कृष्ट प्रदर्शन गरे।

अर्जुन कुमालले ४३ रन र रोहित पौडेलले ४० रनको योगदान दिएका थिए। आसिफ आउट हुनुअघि अर्जुन कुमालसँग पहिलो विकेटका लागि ९७ रनको महत्वपूर्ण साझेदारी गरेका थिए। त्यसपछि इशान पान्डेसँग दोस्रो विकेटका लागि ३६ रनको साझेदारी गरे भने तेस्रो विकेटका लागि रोहित पौडेलसँग ६८ रनको साझेदारी समेत गरे। यूएईका लागि इबरार अहमदले ४ विकेट लिए भने बिन तनभिरले २ विकेट लिए। हैदर अली र अदीब उसमानीले एक/एक विकेट लिए। फाइनल जितेमा नेपाल एसिया कपका लागि छनोट हुनेछ।