
टर्कीमा एलजीबीटीक्यू+ समुदायका संस्थाहरू र अभियानकर्ताहरूको घरमा छापा मारिएपछि विरोध स्वरुप आयोजना गरिएको र्यालीमा प्रदर्शनकारी र प्रहरीले झडप गरेका छन्। पश्चिमी प्रान्त इज्मिरमा सोमबार आयोजित र्यालीमा प्रहरीले अश्रुग्यास प्रहार गरेको थियो।
टर्की सरकारले पारिवारिक मूल्य र संस्कृतिको संरक्षणको बहस गर्दै ल्याएको ‘माय फेमिली इज सेफ’ अभियान अन्तर्गत दर्जनौं मानिसहरूलाई नियन्त्रणमा लिएको छ। तर मानवअधिकारवादी समूहहरू र विपक्षी नेताहरूले उक्त अभियान एलजीबीटीक्यू+ समुदायलाई निशाना बनाउन दुरुपयोग भइरहेको आरोप लगाएका छन्।
टर्कीमा समलिङ्गी सम्बन्ध अपराध भने होइन भने पनि समलिङ्गीप्रति व्यापक पूर्वाग्रह पाइन्छ। राष्ट्रपति रेचेप तय्यिप एर्दोआनले एलजीबीटीक्यू+ व्यक्तिहरूलाई ‘विकृत’ को संज्ञा दिँदै उनीहरूले जन्मदर घटाएको दाबी गर्दै आएका छन्।






