
दशैं, तिहार र छठजस्ता वार्षिक चाडपर्वहरू नजिकिँदा चिनी महँगो मूल्यमा किनमेल गर्नुपरेको भन्दै उपभोक्ताले गुनासो गरेका छन्। यद्यपि अधिकारीहरूले बजारमा चिनीको अभाव नभएको र आवश्यकभन्दा बढी मूल्य तिर्न नहुन आग्रह गरेका छन्। उपभोक्ताहरूले पसलमा चिनीको मूल्य १३० रुपैयाँ वा त्योभन्दा बढी भैरहेको गुनासो गरेका छन्। तर साल्ट ट्रेडिङ कर्पोरेशन र खाद्य व्यवस्था तथा व्यापार कम्पनीका अधिकारीहरूले उपभोक्तालाई आवश्यकभन्दा धेरै चिनी नकिन्न र बढी मूल्य नतिर्न सुझाव दिएका छन्।
चिनी कालोबजार वा मूल्य बढी हुने सम्बन्धमा आएका गुनासोका कारण वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले अनुगमन कडा पारेको जनाएको छ। एक महिनादेखि चिनी मूल्यसम्बन्धी अनुगमन गर्दा अहिलेसम्म कुनै पनि पसलमा कारबाही आवश्यक पर्ने अवस्था नपाएको विभागका अधिकारीहरूले जनाएका छन्। भारतबाट जीटूजी समझदारीमार्फत १० हजार क्विन्टल चिनी नेपाल वीरगन्जमा भित्रिईसकेको छ भने स्वदेशी व्यवसायीहरुबाट २५ हजार क्विन्टल किन्दै गरेको र थप २५ हजार क्विन्टल ल्याउन सरकारले अनुमति दिएको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले बताएको छ।
कम्पनीका अनुसार काठमाडौंमा चिनीको मूल्य १०९ रुपैयाँ र देशभर ११० रुपैयाँ प्रति किलो कायम छ तथा विक्री कक्षहरूबाट वितरण भइरहेको छ। कम्पनीका सूचना अधिकारी माधव मिश्रले भने, “हाम्रो कार्यालयबाट खरिद गर्दा हुम्ला, जुम्ला, कालिकोट, ताप्लेजुङ लगायतका क्षेत्रहरूमा पनि ११० रुपैयाँ प्रति किलोमा चिनी उपलब्ध छ।”
प्रत्येक वर्ष चाडपर्व नजिकिँदा उपभोक्ताले चिनी अभाव महसुस गर्ने गरेका छन्। तथापि, यस वर्ष उपभोक्तालाई अत्यधिक समस्या नपरोस् भनी चिनी अभाव नरहेको साल्ट ट्रेडिङ कर्पोरेशनका अधिकारीहरूले स्पष्ट पारेका छन्। साल्ट ट्रेडिङ कर्पोरेशनका उपप्रमुख कुमार राजभण्डारीले भने, “उपभोक्ताले अत्यधिक चिन्तित भएर आवश्यकभन्दा बढी र बढी मूल्यमा चिनी नकिन्ने हामी आग्रह गर्छौं। साल्ट ट्रेडिङ, खाद्य संस्थान र खाद्य व्यापार कम्पनीका स्टलहरूमा चिनी पर्याप्त उपलब्ध छ।”
वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले चिनी जस्ता खाद्यान्न तथा उपभोग्य वस्तुहरूको अनुगमन कडा पारेको र चिनी मूल्य तथा उपलब्धता निरन्तर जाँच गरिरहेको जनाएको छ। तर अहिलेसम्म कुनै पसलमा कारबाही हुनुपर्ने तथ्य भेटिएको छैन र अनुगमनमा प्रमाण नपाएको विभागका सूचना अधिकारी अनिल किराँतीले जानकारी दिए।






