
म्यान्चेस्टर युनाइटेड ओरल्ड ट्राफोर्डमा ब्राइटनसँग ३–२ ले पराजित हुँदै ईएफएल कपको तेस्रो चरणबाट बाहिरिएको छ। शिया लेसी र मेसन माउन्टका गोलले युनाइटेडले २–० को अग्रता लिएको थियो, तर ब्राइटनले चार गोल फर्काएर जित हात पारेको छ। ओरल्ड ट्राफोर्डमा दुई गोलको अग्रता लिएर पराजित हुनु युनाइटेडको १९७६ यताकै पहिलो घटना बनेको छ। १ असोज, काठमाडौं।
दुई गोलको अग्रता कायम राख्न नसक्दा म्यान्चेस्टर युनाइटेड इंग्लिस फुटबल लिग (ईएफएल) कपको तेस्रो चरणबाट बाहिरिएको छ। घरेलु मैदान ओरल्ड ट्राफोर्डमा दुई गोलले अगाडि रहेको युनाइटेड ब्राइटनसँग ३–२ ले पराजित हुँदै प्रतियोगिताबाट बाहिरिएको हो। खेलको आठौं मिनेटमा युवा खेलाडी शिया लेसीले सिनियर टोलीबाट पहिलो सुरुवाती खेलमै गोल गर्दै युनाइटेडलाई अग्रता दिलाएका थिए। त्यसको दुई मिनेटपछि मेसन माउन्टले अर्को गोल थपेपछि युनाइटेड २–० ले अघि बढेको थियो।
तर पहिलो हाफको इन्जुरी समयमा चारालाम्पोस कोस्टुलासले गोल गर्दै ब्राइटनलाई खेलमा फर्काए। दोस्रो हाफमा ६५औं मिनेटमा कप्तान पास्कल ग्रोसले बराबरी गोल गरे भने चार मिनेटपछि कोस्टुलासकै पासमा म्याक्सिम डे कुइपरले निर्णायक गोल गर्दै ब्राइटनलाई जित दिलाए। युनाइटेडका मुख्य प्रशिक्षक माइकल क्यारिकले ७२औं मिनेटमा ब्रुनो फर्नान्डेसलाई मैदानमा उतारे पनि टोलीले बराबरी गोल फर्काउन सकेन। यो हारसँगै युनाइटेडले घरेलु कपमा लगातार तेस्रो पटक ब्राइटनसँग पराजय बेहोरेको छ। साथै ओरल्ड ट्राफोर्डमा दुई गोलले अग्रता लिएर पराजित हुनु यो युनाइटेडको १९७६ यताकै पहिलो घटना बनेको छ।
गएराति भएका अन्य खेलमा फ्लिटवुडले शेफिल्ड युनाइटेडलाई १-० ले हराउँदा एस्टन भिल्लाले कोभेन्ट्रीलाई ३-१ ले पराजित गर्यो। एभर्टनले वुल्भ्सलाई १-० ले हरायो।






