Skip to main content

जस बट्लर बने टी-२० क्रिकेटमा १५ हजार रन पुरा गर्ने पहिलो खेलाडी

इंग्ल्यान्डका ब्याट्सम्यान जस बट्लर श्रीलंकाविरुद्ध ३० रन बनाएसँगै टी–२० क्रिकेटमा १५ हजार रन पुरा गर्ने विश्वकै पहिलो खेलाडी बनेका छन्। बट्लरले ५२८ खेलमा ९ शतक र १०७ अर्धशतकसहित १५ हजार रन बनाएका छन्। वेस्ट इन्डिजका किरोन पोलार्ड १४,९९९ रनसहित १५ हजार रनको कीर्तिमानबाट एक रन टाढा छन्।

२ असोज, काठमाडौं। इंग्ल्यान्डका ब्याट्सम्यान जस बट्लर टी–२० क्रिकेटमा १५ हजार रन पुरा गर्ने विश्वकै पहिलो खेलाडी बनेका छन्। श्रीलंकाविरुद्धको टी–२० अन्तर्राष्ट्रिय खेलमा ३० रन बनाएसँगै बट्लरले आफ्नो समग्र टी–२० रन संख्या १५,००० पुर्‍याउँदै नयाँ इतिहास रचेका हुन्।

यसअघि यो कीर्तिमानको सबैभन्दा नजिक वेस्ट इन्डिजका किरोन पोलार्ड थिए। हाल ट्रिनबागो नाइटराइडर्सबाट क्यारियर खेल्दै आएका ३९ वर्षीय पोलार्डको नाममा १४,९९९ रन छन्, अर्थात् उनी १५ हजार रनको कीर्तिमानबाट केवल एक रन टाढा छन्। तर उनको टोली सीपीएलबाट बाहिरिसकेकोले यो उपलब्धिका लागि उनले केही समय कुर्नुपर्ने भएको छ।

बट्लरले अन्तर्राष्ट्रिय क्रिकेटसँगै आईपीएल, द हन्ड्रेड, बिग बैश र अन्य प्रमुख फ्रेञ्चाइजी लिगहरूमा निरन्तर उत्कृष्ट प्रदर्शन गर्दै टी–२० क्रिकेटका सबैभन्दा सफल ब्याट्सम्यानहरू बीच आफ्नो स्थान बनाएका छन्। बट्लरले समग्र टी-२०मा ५२८ खेल खेल्दा ९ शतक र १०७ अर्धशतक सहित १५ हजार रन बनाएका छन्। टी-२० अन्तर्राष्ट्रियमा भने उनले १६२ खेलमा २ शतक र २९ अर्धशतकसहित ४३२२ रन बनाएका छन्।