Skip to main content

रसुवा र तातोपानी नाका बन्द भएपछि चीनबाट आउने सामानहरूमा परेको प्रभाव

चीनसँगको रसुवा र तातोपानी नाका बन्द भएपछि चीनबाट नेपालमा आयात गरिने सामानहरू हिमाली जिल्ला मुस्ताङको सीमामा रहेको कोरला नाकाबाट आउन थालेको अधिकारीहरूले बताएका छन्। त्यहाँको नाका प्रभावकारी सञ्चालनका लागि पहिलेभन्दा पाँच गुणा बढी जनशक्ति तैनाथ गरिएको छ। मुस्ताङस्थित भन्सार कार्यालयले जनाएको अनुसार, अहिले उक्त नाकाबाट दैनिक ३०/३१ वटा कन्टेनर भित्रिरहेको छ। कोरलाबाट सामान राजधानी काठमाडौंसम्म पुर्‍याउन बाटो लामो हुनुपर्ने र सामान भित्रिन समय लाग्ने भएकाले चाडबाड लक्षित सामान ल्याउन कठिनाइ भइरहेको अधिकारीहरूले बताएका छन्।

दैनिक ५/६ कन्टेनर भित्रिँदै आएका बेला वैकल्पिक नाकाका रूपमा रहेको कोरला नै अहिले एकमात्र नाका बनेको छ। त्यहाँबाट आउने सामानको दबाव धेरै गुणा बढेको छ। उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका प्रवक्ता जितेन्द्र बस्नेतले भने, “चीन हुँदै नेपाल आउने चाडबाड लक्षित सामानहरू डाइभर्ट गरेर कोरला नाकाबाट ल्याउने काम भइरहेकाले समुद्री मार्गबाट ल्याउनुपर्ने अवस्था सिर्जना भएको छ।” यसले समयमा सामान आयात नहुँदा चाडपर्व लक्षित व्यवसायीले ल्याएको सामान बजारमा नआइपुग्ने र उपभोक्तासम्म नपुग्ने अवस्था देखिएको छ जसले स्थिति अलि कठिन बनाएको छ।

भदौ १० गते भोटेकोशी-त्रिशूली नदीमा आएको भीषण बाढीका कारण चीनसँगको मुख्य नाका रसुवागढी बन्द हुन पुगेको छ। त्यसपछि केही दिन भित्रै चीनले तातोपानी नाकालाई पनि अस्थायी बन्द गरे पछि ती नाकाबाट आउने सबै सामान अहिले कोरला नाका हुँदै डाइभर्ट गरेर भित्रिने क्रम जारी छ। चीनबाट नेपालमा आयात हुने सामानहरूमा लत्ताकपडा, इलेक्ट्रोनिक सामान, स्याउ लगायत सामाग्रीहरू छन्। तर दाल, चामल, चिनी, तेल, सिमी, तरकारी, फलफूल, पेट्रोलियम पदार्थजस्ता अत्यावश्यक दैनिक उपभोग्य वस्तुहरू प्रायः भारतबाट नै भित्रिन्छन्।

कोरला नाकाको जाँचपास चोभारस्थित सुक्खा बन्दरगाहबाट गरिने व्यवस्था गरिएको छ। मुस्ताङ भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत विदुर चुडालका अनुसार, भदौ १० गतेदेखि त्यो नाकाबाट ६०० भन्दा बढी कन्टेनर भित्रिसकेको छ। “भदौ १० पछाडि ६२१ कन्टेनर भित्रिएको छ। दैनिक ३०/३१ कन्टेनर भित्रिएको छ। बिदाको अवसरमा दिनमा ४०/५० कन्टेनर पनि भित्रिएको छ,” उनले भने। यस वर्ष दशैँतिहारभन्दा जाडोका लुगा समुद्री मार्गबाट ल्याउनुपर्ने हुन सक्छ।