
बंगलादेशका विकेटकिपर तथा ब्याट्सम्यान अकबर अलीले तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) मा कर्णाली याक्सको प्रतिनिधित्व गर्ने भएका छन्। कर्णाली याक्सले सामाजिक सञ्जालमार्फत अकबरलाई आफ्नो विदेशी खेलाडीको रूपमा घोषणा गरेको छ।
अकबरले सन् २०२० मा बंगलादेश यू–१९ टोलीको कप्तानीमा विश्वकप जिताएका थिए र हालै बीपीएलमा राजशाही वारियर्सबाट उपाधि जितेका थिए। २४ वर्षका अकबरले बंगलादेशको वरिष्ठ राष्ट्रिय टोलीमा अवसर नपाए पनि घरेलु क्रिकेटमा उत्कृष्ट प्रदर्शन गरिरहेका छन्। उनले २८ प्रथम श्रेणी खेलमा १,३६१ रन, १०६ लिस्ट ‘ए’ खेलमा २,२२२ रन र ८६ टी–२० खेलमा १,१८० रन बनाएर आफ्नो प्रतिभा देखाएका छन्।
अकबर भर्खरै सम्पन्न बंगलादेश प्रिमियर लिग (बीपीएल) मा राजशाही वारियर्सबाट खेल्दै उपाधि विजेता टोलीका सदस्य बनेका थिए। सन् २०२० मा उनले कप्तानी गरेको बंगलादेश यू–१९ टोलीले पहिलोपटक ICC यू–१९ विश्वकप जितेको थियो। कर्णाली याक्सले यसअघि स्कटल्यान्डका अनुभवी स्पिनर मार्क वाटलाई तेस्रो संस्करणका लागि पुनः राखेको छ।






