Skip to main content

प्रोमो सुटिङको क्रममा घाइते भएका रचिन रविन्द्र

न्युजिल्यान्डका अलराउन्डर रचिन रविन्द्र अकल्यान्डमा प्रोमो सुटिङको क्रममा डाइभिङ क्याच लिँदा दायाँ काँध खुस्काएर घाइते भएका छन्। क्याच लिने क्रममा सुरक्षा म्याटमा असहज रूपमा ल्यान्ड गरेपछि रविन्द्रको प्रारम्भिक परीक्षण गरिएको थियो। शुक्रबार गरिएको स्वास्थ्य परीक्षणमा विशेषज्ञ चिकित्सकले उनको काँधमा कुनै ठूलो संरचनात्मक क्षति नभएको पुष्टि गरेका छन्।

रविन्द्रको मैदान फर्किने समय भने पुनःस्थापनाको सुरुवाती केही हप्तामा उनको स्वास्थ्य सुधारको प्रगतिमा निर्भर रहने न्युजिल्यान्ड क्रिकेटले जनाएको छ। आगामी अक्टोबर २२ देखि भारतविरुद्ध सुरु हुने पाँच खेलको टी–२० आई शृंखलामा उनी खेल्ने वा नखेल्नेबारे अहिले नै स्पष्ट नभएको जनाइएको छ।

न्युजिल्यान्डका प्रदर्शन व्यवस्थापक माइक स्यान्डलले रविन्द्रको चोट दुर्भाग्यपूर्ण भएको बताएका छन्। उनले रविन्द्रको स्वास्थ्यमा ध्यान केन्द्रित गर्दै जतिसक्दो चाँडो मैदान फर्काउन प्राथमिकता दिइने बताए। न्युजिल्यान्डका मुख्य प्रशिक्षक रोब वाल्टरले पनि रविन्द्रलाई हतारमा मैदान फर्काउने पक्षमा नरहेको बताएका छन्।

आगामी छ महिनामा धेरै टेस्ट क्रिकेट खेल्नुपर्ने भएकाले आवश्यक समय दिएर उनको पुनःस्थापना गरिने उनले बताए। भारतविरुद्धको घरेलु शृंखलामा अक्टोबर २२ देखि नोभेम्बर १ सम्म पाँच टी–२० आई खेल हुनेछन्। त्यसपछि नोभेम्बरमा पाँच एकदिवसीय र दुई टेस्ट खेल हुने तालिका छ।