
ललितपुरको च्यासलमा सोमबार भएको ५ ‘ए’ साइड महिला फुटसलको फाइनलमा पेसएक्सले स्टुडेन्ट एफसीलाई १–० गोलले हराउँदै उपाधि जितेको छ। उपाधिसँगै पेसएक्सले ५५ हजार रुपैयाँ, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ भने स्टुडेन्ट एफसीले २५ हजार रुपैयाँ पाएको छ। व्यक्तिगत विधातर्फ पेसएक्सकी स्मृति भुजेल उत्कृष्ट गोलरक्षक र क्रिजल एफसीकी रेनुका हमाल सर्वोत्कृष्ट खेलाडी घोषित भएकी छन्।
पेसएक्स स्पोर्ट्स एकेडेमीको आयोजनामा सम्पन्न ५ ‘ए’ साइड महिला फुटसल प्रतियोगिताको उपाधि पेसएक्सले जीतेको छ। ललितपुरको च्यासलस्थित आर स्क्वायर गेम स्टेसनमा सोमबार भएको फाइनलमा पेसएक्सले स्टुडेन्ट एफसीलाई १–० गोलले पराजित गर्दै च्याम्पियन बन्यो। तेस्रो स्थानका लागि भएको खेलमा क्रिजल एफसीले नखिपोट एफसीलाई २–१ गोलले हरायो। उपाधिसँगै पेसएक्सले ५५ हजार रुपैयाँ नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्यो। उपविजेता स्टुडेन्ट एफसीले २५ हजार तथा तेस्रो भएको क्रिजल एफसीले १५ हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र हात पार्यो।
याक्थुङ एफसी फेयर प्ले टिम घोषित हुँदै ३ हजार १ सय रुपैयाँसहित ट्रफीबाट सम्मानित भयो। व्यक्तिगत विधातर्फ पेसएक्सकी स्मृति भुजेल उत्कृष्ट गोलरक्षक घोषित भइन् भने क्रिजल एफसीकी रेनुका हमाल प्रतियोगिताकी सर्वोत्कृष्ट खेलाडी चुनिइन्। दुवैले जनही ३ हजार १ सय रुपैयाँ नगदसहित ट्रफी प्राप्त गरे।
फाइनल समारोहमा प्रमुख अतिथिका रूपमा उपस्थित ललितपुर महानगरपालिकाकी उपप्रमुख मञ्जली शाक्य बज्राचार्यले महिला खेलाडीलाई प्रतिस्पर्धात्मक अवसर उपलब्ध गराउन यस्ता प्रतियोगिताले महत्वपूर्ण भूमिका खेल्ने बताइन्। खेलकुदले महिलामा आत्मविश्वास, नेतृत्व क्षमता र सामाजिक सशक्तीकरण बढाउने भएकाले यस्ता प्रतियोगिता निरन्तर हुनुपर्ने उनको भनाइ थियो। पेसएक्स स्पोर्ट्स एकेडेमीकी संस्थापक तथा अध्यक्ष संगीता कर्णले महिला खेलाडीलाई प्रतिभा प्रदर्शन गर्ने मञ्च उपलब्ध गराउने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको बताइन्। आगामी दिनमा पनि महिला फुटसलको विकास र खेलाडीको क्षमता अभिवृद्धिका लागि पेसएक्सले निरन्तर काम गर्ने उनले प्रतिबद्धता व्यक्त गरिन्। प्रतियोगितामा १२ महिला टोलीको सहभागिता रहेको आयोजकले जनाएको छ।






