टेबलटेनिस मिक्स्ड डबल्समा रुविन–इभाना दोस्रो चरणमा प्रबेश, नविता–सन्योग बाहिरिए

२०औं एसियन गेम्सको टेबलटेनीस मिक्स्ड डबल्समा रुविन महर्जन र इभाना थापाले दोस्रो चरणमा प्रवेश गरेका छन्। रुविन–इभाना जोडीले जापानको स्काई हल टोयोटामा पाकिस्तानका मोहम्मद खान र कलसुम खानलाई ३–० को सोझो सेट अन्तरले पराजित गर्यो। पहिलो सेट ११–६, दोस्रो सेट ११–८ र तेस्रो सेट ११–४ को स्कोरमा जित हात पारेपछि यो जोडी दोस्रो चरणमा पुगेको हो। दोस्रो चरणमा उनीहरूले हङकङका क्वान तो याउ र विङ लाम ङको जोडीसँग प्रतिस्पर्धा गर्नेछन्।
त्यस्तै, सोही स्पर्धामा नविता श्रेष्ठ र सन्योग कपाली मंगोलियाका बिल्गुन अन्खबयार र अन्खमा सेर–ओदसँग ३–१ ले पराजित भई पहिलो चरणमै बाहिरिएका छन्। नविता–सन्योग जोडीले पहिलो सेट ११–२ को स्पष्ट जित निकाल्दा पनि त्यसपछि सम्हाल्न सकेनन्। दोस्रो र तेस्रो सेट समान ११–६ तथा चौथो सेट ११–९ मा हार मान्नुपर्यो। हारसँगै नविता–सन्योग जोडी प्रतियोगिताबाट बाहिरिएको छ।






