
भारतको दिल्लीबाट बिहारतर्फ जाँदै गरेको स्लिपर बस ग्रेटर नोएडाको यमुना एक्सप्रेस वेमा आगो लाग्दा एक महिलासहित ९ जनाको मृत्यु भएको छ। प्रहरीका अनुसार, घटना जेवर प्रहरी चौकी क्षेत्रको ३३ किलोमिटर माइलस्टोन नजिक राति भएको थियो।
दुर्घटनामा बच्न सफल यात्री रिंकी राजपूतले बस धुवाँले भरिएको र असुविधाजनक अवस्थाका बारेमा भनेकी छिन्। उनले भनिन्, ‘म सुतिरहेको थिएँ कि कसैले ठूलो आवाजमा ढोका ठोक्यो। आँखाम खोल्दा त्यहाँ पहिले नै ठूलो भिड देखेँ।’ उनले थपिन्, ‘मान्छेहरू एकअर्कालाई धकेलिरहेका थिए। मलाई पनि थिचियो, अन्ततः कसैले मलाई बाहिर निकाल्यो। त्यसपछि केही याद छैन।’
उनका अनुसार, ‘बस भित्र सम्पूर्ण रूपमा धुवाँले भरिएको थियो। अवस्था अस्तव्यस्त थियो र बाहिर निस्कन निकै कठिन थियो। त्यति धेरै धुवाँ थियो कि केही देखिन्थेन। भित्रका धेरै मानिसहरू सास फेर्न गाह्रो भईरहेको थिए। केवल केही मानिसहरू जसले धक्का-मुक्की गरेर बाटो बनाएका थिए, बाहिर निस्कन सफल भए।’ रिंकीले भनिन्, ‘धेरैले आफ्नो ज्यान गुमाए। मेरो पछाडि धेरै मानिसहरू थिए, जो सायद बाहिर निस्कन सकेनन्, किनकि म आफैं धेरै पछि मात्र बाहिर निस्कन सकें।’






