पर्याप्त निद्राले थुप्रै रोगको खतरा घटाउँछ: नयाँ अध्ययनको निष्कर्ष

नयाँ अध्ययनले देखाएको छ कि राति ६ देखि ८ घण्टा निद्रा र आरईएम तथा गहिरो निद्रा पर्याप्त भएका व्यक्तिहरूमा थुप्रै गम्भीर रोगहरूको जोखिम कम हुन्छ। पीएलओएस मेडिसिनमा प्रकाशित अध्ययनअनुसार, ५ घण्टाभन्दा कम निद्रा भएका व्यक्तिहरूमा ३७ प्रकारका रोगहरूको खतरा बढी हुन्छ र निद्राको अनियमितता मानसिक तथा शारीरिक समस्यासँग सम्बन्धित हुन्छ। चीनको क्यापिटल मेडिकल युनिभर्सिटीका शोधकर्ताले युके बायोबैंकबाट ९५ हजार ५ सय ५९ सहभागीको तथ्याङ्क विश्लेषण गरी यो निष्कर्ष निकालेका हुन्। ८ असोज, काठमाडौं।
प्रत्येक राति ६ देखि ८ घण्टाको पर्याप्त निद्रा र ‘आरईएम’ (आरईएम-र्यापिड आइ मुभमेन्ट) तथा गहिरो निद्रा प्राप्त गर्ने व्यक्तिहरूमा दर्जनौं गम्भीर रोगहरूको जोखिम उल्लेखनीय रूपमा कम हुने नयाँ अध्ययनले पुष्टि गरेको छ। वैज्ञानिक पत्रिका ‘पीएलओएस मेडिसिन’ मा सेप्टेम्बर १७ मा सार्वजनिक भएको यस अध्ययनअनुसार दैनिक ५ घण्टाभन्दा कम निद्रा हुनेमा विभिन्न रोगहरूको जोखिम धेरै पाइन्छ।
चीनको क्यापिटल मेडिकल युनिभर्सिटीका शोधकर्ता शेङझी सन र उनको टोलीले गरेको यस अध्ययनले निद्राको मात्रात्मक र गुणात्मक स्तरले मानव स्वास्थ्यमा पार्ने प्रत्यक्ष प्रभावबारे नयाँ तथ्यहरू उजागर गरेको हो। अनुसन्धानका लागि टोलीले युके बायोबैंकका ९५,५५९ जना सहभागीहरूको तथ्याङ्क विश्लेषण गरेका थिए। सहभागीहरूले सात दिन सात रातसम्म हातमा ‘रिस्ट एक्सेलेरोमिटर’ नामक उपकरण लगाएर आफ्नो निद्रा निगरानी गराएका थिए।
अनुसन्धानकर्ताहरूले ‘डिप-लर्निङ एल्गोरिदम’ प्रयोग गरी निद्राका विभिन्न चरणहरू (आरईएम, गहिरो र हल्का निद्रा), कुल निद्रा समय, निद्रापछि ब्युँझाउने अवस्था र निद्राको अनियमितता मापन गरेका थिए। सहभागीहरूलाई औसत ८.९ वर्षसम्म निरन्तर निगरानी गरियो र उनीहरूको स्वास्थ्य अभिलेखका आधारमा एक हजारभन्दा बढी रोगसँग निद्राको सम्बन्ध परीक्षण गरियो। अध्ययनका अनुसार आरईएम निद्राको मात्रा बढी हुने व्यक्तिहरूमा हार्ट फेल, डिमेन्सिया र पार्किन्सन्सजस्ता ८३ रोगहरूको जोखिम निकै कम पाइयो।






