
सातै प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गर्न शिक्षा तथा खेलकुद मन्त्रालय, शहरी विकास विभाग र राष्ट्रिय खेलकुद परिषद् (राखेप) बीच समझदारी पत्रमा हस्ताक्षर गरिएको छ। मन्त्री सस्मित पोखरेलले विद्यालय तहबाट खेलकुदप्रति आकर्षण बढाउन पाठ्यक्रममा खेलकुद समावेश गर्ने तथा खेलाडीहरूलाई कार्यदलमा अनुरूप राखिएको जानकारी दिएका छन्। सरकारले तीन वर्षभित्र १० वटा फुटबल रंगशाला, आठ शहरमा क्रिकेट रंगशाला र सात स्थानमा इन्डोर बहुउद्देश्यीय स्टेडियम निर्माण गर्ने लक्ष्य लिएको छ। ८ असोज, काठमाडौं।
नयाँ खेलकुद पूर्वाधार निर्माण गर्ने उद्देश्यका साथ बिहीबार शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलको उपस्थितिमा शहरी विकास तथा भवन निर्माण विभागका महानिर्देशक ई. रवीन्द्र बोहरा र राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्यसचिव रामचरित्र मेहताले उक्त समझदारी पत्रमा हस्ताक्षर गरेका हुन्। मन्त्री पोखरेलले सातै प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार बनाउने योजना रहेको बताए। उनले भने, ‘हामीले पहिलादेखि नै देखेको सपना ग्रासरुटबाट खेलाडी उत्पादन गर्ने भन्ने लक्ष्यमा एक कदम अघि बढेका छौं।’
मन्त्री पोखरेलले यसले विद्यालय तहबाट खेलकुदप्रति आकर्षण बढाउन नयाँ पूर्वाधारले सहयोग पुर्याउने विश्वास व्यक्त गरे। उनले बताए, नेपालका खेलकुद क्षेत्रमा तल्लो तहदेखि पूर्वाधारमा लगानी गर्ने सरकारको योजनाअनुसार नयाँ पूर्वाधार निर्माणमा समझदारी पत्र हस्ताक्षर गरिएको हो। उनले थपे, ‘नेपालका विभिन्न प्रदेश र जिल्लामा खेलकुद पूर्वाधार राम्रो नभएकाले खेलाडीहरू ग्रासरुटबाट उत्पादन गर्न नसकेको अवस्था छ।’
राष्ट्रिय खेलकुद परिषद् का सदस्यसचिव रामचरित्र मेहताले खेलकुदका नयाँ अत्याधुनिक पूर्वाधार निर्माण गर्ने लक्ष्यका साथ भएको साझेदारीले खेलकुदको विकासमा महत्वपूर्ण योगदान पुर्याउने विश्वास जनाए। सरकारले चालु आर्थिक वर्षको बजेटमा नयाँ खेलकुद पूर्वाधार निर्माण र आवश्यक मर्मत, सम्भार, पुनर्निर्माण, स्तरोन्नति तथा सुदृढीकरणलाई समावेश गरेको छ।






