
हाल देशका धेरै क्षेत्रहरूमा हल्का देखि मध्यम वर्षा भइरहेको छ, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार अहिले कोशी, बाग्मती, लुम्बिनी र गण्डकी प्रदेशका पूर्वी भागहरूमा ‘भारी वर्षा’ भइरहेको छ। “अहिलेको मौसमी प्रणाली भारतको छत्तीसगढ तथा वरिपरिका क्षेत्रमा केन्द्रित छ र यसले नेपालभर प्रभाव पारिरहेको छ,” मौसमविद् रोजन लामिछानेले भने। “नेपालको पश्चिमी भागमा यो प्रभाव आइतवारसम्म रहनसक्छ।” गत २४ घण्टामा पाल्पाको अर्चलेमा सबैभन्दा बढी १८७ मिलिमिटर वर्षा भएको जल तथा मौसम विभागले जनाएको छ। मौसमविद् विनोद पोखरेलका अनुसार भारी वर्षाको सम्भावना अब बाग्मती क्षेत्रका केही जिल्लाबाट सुदूरपश्चिमतर्फ सरेको छ। काठमाडौंमा शुक्रबार अपराह्नदेखि अत्यंत भारी वर्षाको सम्भावना कम रहेको उनले बताए।
नदीहरूको स्थितिभक्तपुरको जगातीमा हनुमन्ते खोला, नुवाकोटको धुन्चेमा त्रिशूली नदी र काभ्रेपलाञ्चोकको पनौतीमा रोसी खोला जलसतह सतर्कताको तहमा पुगेको जल विज्ञान तथा जलस्रोत अनुसन्धान केन्द्रले जनाएको छ। शुक्रबार बिहान गरिएका मापन अनुसार अधिकांश प्रमुख नदीहरूको बहाव सतर्कता तह भन्दा तल रहेको महाशाखाले जनाएको छ। प्रमुख नदीहरूमा शुक्रबारदेखि आइतवारसम्म सामान्य जलसतह उतार-चढाव हुने अनुमान गरिएको छ। शुक्रबार सुनसरी, मोरङ, धनकुटा तथा वरिपरिका जिल्लाहरूमा बग्ने केही साना नदिहरूको बहाव उल्लेख्य बढ्ने र आकस्मिक बाढीको मध्यम जोखिम हुने सम्भावना रहेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ।
महाशाखास्थित मौसमविद् लामिछानेका अनुसार सोमबारदेखि मौसममा क्रमिक सुधार आउने अपेक्षा गरिएको छ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणकी प्रवक्ता शान्ति महतले आइतवारसम्म नदीहरूको जलसतह बढिरहेको अवस्थामा सतर्क रहन सम्बंधित पक्षलाई अनुरोध गरिएको बताएकी छन्। “पहिले आइतवारसम्म यो प्रणाली कमजोर हुने अनुमान थियो, तर अब आइतवारसम्म प्रभाव रहने देखिन्छ, त्यसैले हामीले आइतवारसम्म सतर्क रहन सुझाव दिएका छौँ,” उनले भनिन्।
राजमार्गहरू अवरुद्धदुई दिनदेखि निरन्तर परेको वर्षाले पहिरो आएपछि देशका धेरैजसो राजमार्ग अवरुद्ध भएका छन्, विपद् प्रतिकार्य समन्वय तथा संस्थागत सुदृढीकरण शाखाले जानकारी दिएको छ। शाखास्थित उपसचिव फणीन्द्र पौडेलका अनुसार काठमाडौंका लागि मुख्य मार्ग पृथ्वी राजमार्ग पनि पहिरोका कारण अवरुद्ध भएको छ। त्यसका साथै हाल अवरुद्ध भएका राजमार्गहरूमा बीपी राजमार्ग, कान्ति लोकपथ र कालुपाण्डे राजमार्ग पनि छन्। सम्भावित जोखिमलाई ध्यानमा राख्दै केही स्थानीय प्रशासनहरूले छुट्टाछुट्टै सूचना जारी गरी राति यातायात रोक लगाएका छन्। प्रतिकूल मौसमका कारण ‘कम दृश्यता’ हुँदा केही आन्तरिक हवाई उडानहरू पनि रद्द गरिएको सेवा प्रदायकहरूले बताएका छन्। त्यसैगरी, आवश्यकतानुसार विद्यालयहरू बन्द गर्न शिक्षा तथा खेलकुद मन्त्रालयले निर्देशन गरेपछि अधिकांश विद्यालयहरूले शुक्रबार बिदा दिएका छन्। संभावित जोखिमलाई मध्यनजर गर्दै मन्त्रालयले असोज ११ गतेसम्मका परीक्षाहरू स्थगित गर्न निर्देशन दिएको छ।






