Skip to main content

जापानमा बेरोजगारी दरमा वृद्धि देखियो

१६ असोज, टोकियो (रासस/सिन्ह्वा)। जापानमा अगष्ट महिनामा बेरोजगारी दर २.५ प्रतिशत पुगेको छ। जुलाईमा यो दर २.४ प्रतिशत थियो र पाँच महिनापछि पहिलोपटक जापान सरकारद्वारा सार्वजनिक तथ्याङ्कमा वृद्धि देखिएको छ। आन्तरिक मामिला तथा सञ्चार मन्त्रालयका अनुसार अगष्ट महिनामा रोजगारमा रहेका व्यक्तिहरूको संख्या अघिल्लो महिनाको तुलनामा ३० हजारले वृद्धि भएर मौसमी रूपमा समायोजित गरी ८३ लाख ४० हजार पुगेको छ। कामबाट अलग भएका व्यक्तिहरूमध्ये ८ लाख १० हजारले स्वेच्छाले रोजगारी छाडेका छन्।

राम्रो जागिरको खोजीमा रहेका मानिसको संख्या जुलाई महिनाको तुलनामा ८ प्रतिशतले वृद्धि भएको छ। त्यस्तै, रोजगारदाताबाट निकालिएका मानिसको संख्या ४ लाख पुगेको छ जसमा अघिल्लो महिनाको तुलनामा ५.३ प्रतिशतले बृद्धि देखिएको छ। मन्त्रालयका अनुसार नयाँ रोजगारी खोज्नेहरूको संख्या पनि २.२ प्रतिशतले बढेर ४ लाख ६० हजार पुगेको छ। त्यस्तै, स्वास्थ्य, श्रम तथा कल्याण मन्त्रालयका छुट्टै तथ्याङ्क अनुसार अगष्टमा रोजगारी उपलब्धता अनुपात १.१८ रहेको छ जुन अघिल्लो महिनाभन्दा अपरिवर्तित छ। यसले जनाउँछ कि प्रत्येक १०० रोजगारी खोज्नेहरूका लागि ११८ वटा रोजगारीका अवसर उपलब्ध थिए।

उद्योगगत रूपमा हेर्दा ११ मध्ये आठ क्षेत्रमा रोजगारीका अवसर घटेका छन्। आवास तथा रेस्टुरेन्ट सेवा क्षेत्रमा रोजगारीका अवसरहरू ११.१ प्रतिशतले घटेका छन् भने थोक तथा खुद्रा बिक्री क्षेत्रमा १०.२ प्रतिशतले कमी आएको मन्त्रालयले जनाएको छ। तर उत्पादन क्षेत्र र सूचना तथा सञ्चार क्षेत्रमा रोजगारीका अवसर क्रमशः ३.९ प्रतिशत र ३.३ प्रतिशतले बढेका छन्।