

समोसा, पकौडा लगायतका खानेकुरा पत्रपत्रिकामा किन नराख्ने?


नेपाल र भारतका विभिन्न क्षेत्रहरूमा समोसा, पकौडा वा तेलमा तलेका खाद्य वस्तुहरूलाई पत्रपत्रिकामा राखेर दिने चलन अझै कायम छ। पछिल्ला वर्षहरूमा जनचेतनाको वृद्धि हुँदा यो परम्परा घट्दै आएको छ भने पनि पूर्णरूपमा समाप्त भइसकेको छैन। भारतको खाद्य सुरक्षा तथा मापदण्ड प्राधिकरण (FSSAI) ले स्ट्रीटफुड विक्रेता, होटल तथा व्यापारीहरूका लागि हालै केही विशेष निर्देशनहरू जारी गरेको छ। पत्रपत्रिका वा अन्य छापिएका कागजातहरूमा खाना राख्नु वा पस्किनु स्वास्थ्यका लागि हानिकारक हुन सक्ने कुरा FSSAI ले सचेत गराएको छ।
चपाईमा प्रयोग गरिने मसीमा सिसा लगायत विभिन्न रासायनिक तत्वहरू हुन्छन्, जसले तातो खाना वा तेलमा मिसिन पुग्छन्। समोसा, पकौडा वा अन्य खाजा पत्रपत्रिकामा राख्दा ती रसायनहरू खानामा प्रवेश गरि पेटसम्बन्धी रोगहरू निम्त्याउन सक्छन्। भारतमा पत्रपत्रिका वा समकक्ष कागज प्रयोग गरी खाद्य पदार्थ राख्न वा पस्कन कडा रुपमा प्रतिबन्ध छ। चिकित्सक डा. श्याम प्रसादका अनुसार, खाना मार्फत शरीरमा प्रवेश गर्ने सिसा कलेजोमा क्षति पुर्याउन सक्छ र रगतमा मिसिएर शरीरका अन्य अंग तथा मस्तिष्कलाई समेत असर पुऱ्याउन सक्छ।
घरमा पनि कतिपयले पुराना पत्रपत्रिकामा रोटी वा पुरी राख्ने गर्छन्, जुन बालबालिकामा विशेषगरी हानिकारक हुन सक्ने डा. प्रसादले बताएका छन्। उनले भने, ‘यसले बालबालिकाको मानसिक र शारीरिक विकासमा गम्भीर असर पुर्याउन सक्छ। गर्भवती महिलामा पनि यसको नकारात्मक प्रभाव पर्न सक्छ।’ खाद्य सेवा प्रदायकहरूलाई सुरक्षित तथा आधिकारिक स्वीकृत खाद्य-ग्रेड प्याकेजिङ सामग्री मात्रै प्रयोग गर्न FSSAI ले पुनः निर्देशन दिएको छ। उपभोक्ताहरूलाई पनि यस विषयमा सजग हुन सल्लाह दिइएको छ।

सम्बन्धित खबर









