

के तपाईँको मुहारको एउटा साधारण फोटोले तपाईँ कति बिरामी हुनुहुन्छ भन्ने खुलासा गर्न सक्छ?


अमेरिकी अनुसन्धानकर्ताहरूले आफूलाई देखाउन आउने व्यक्ति कति बिरामी हो भन्ने एउटा फोटोकै भरमा मूल्याङ्कन गर्न आर्टिफिसिअल इन्टेलिजन्स अर्थात् एआईले मद्दत गर्न सक्ने बताएका छन्। लाखौँ स्वस्थ व्यक्तिका अनुहार र क्यान्सरका ३५ हजार बिरामीका तस्बिरहरूबाट प्रशिक्षित यो उपकरणले आँखाको वरिपरिका विशेषताहरूलाई ध्यानपूर्वक विश्लेषण गरेर बिरामीको बाँच्ने सम्भावनाको अनुमान लगाउन सक्ने वैज्ञानिकहरू बताउँछन्। यो प्रविधि अस्पतालहरूमा प्रयोग गर्न योग्य हुन अझै धेरै काम गर्न बाँकी छ। तर यो अनुसन्धानको उद्देश्य चिकित्सकहरूलाई आफ्ना बिरामीका लागि उपयुक्त उपचार सिफारिस गर्न मद्दत गर्नु रहेको अनुसन्धानकर्ताहरू बताउँछन्।
यो अनुसन्धानका प्रारम्भिक निष्कर्षहरू द ल्यान्सेट डिजिटल हेल्थ नामक जर्नलमा प्रकाशित भएका छन्। ‘फेस सर्भाइभल’ नामक एआईले बिरामी कति समयसम्म बाँच्न सक्छन् भन्ने अनुमान लगाउन आँखामुनिको र नाकको डाँडी वरिपरिको भाग अनुहारका सबैभन्दा महत्त्वपूर्ण भाग हुन्। यी मापदण्डहरू विभिन्न प्रकारका क्यान्सरमा लागू गर्दा पनि उपयोगी देखिएका थिए। क्यान्सर भएका अधिकांश बिरामीहरू अमेरिका र द नेदरल्यान्डसका थिए। उनीहरूमध्ये धेरैजसो ५० वा ६० वर्ष उमेर समूहका थिए। तर, केही बिरामी बालबालिका थिए भने अरू केही ९० वर्षभन्दा माथिका पनि थिए।
चिकित्सकहरूले बिरामीहरू कति अस्वस्थ छन् र उनीहरूको रोगको भविष्यमा कस्तो अवस्था हुन सक्छ भन्ने मूल्याङ्कन गर्न पहिले नै शारीरिक परीक्षण गर्नुका साथै विस्तृत जाँच र परीक्षणहरू गर्दै आएका छन्। पेटेन्टका लागि आवेदन दिइएको यो एआई उपकरण चिकित्सकहरूलाई यो काममा सहयोग गर्न बनाइएको हो न कि उनीहरूको स्थान लिनको लागि। बोस्टनस्थित मास जेनरल ब्रिघमका प्रमुख अनुसन्धानकर्ता डाक्टर रेमन्ड म्याकले यसबारे व्याख्या गर्दै भनेका छन्: “वृद्ध हुनेको सङ्ख्या बढ्दै जाँदा विकिरण उपचार, शल्यक्रिया वा शरीरभरि प्रभाव पार्ने औषधि उपचारजस्ता गहन उपचार सिफारिस गर्नुअघि बिरामीको शारीरिक क्षमता, र शारीरिक कमजोरीको अवस्था अनुमान गर्न चिकित्सकहरूलाई अझ राम्रा विधिहरू आवश्यक पर्छ।”

सम्बन्धित खबर









