पब्जी मोबाइल विश्वकपमा होरा ईस्पोर्ट्सका ‘स्लीपी’ दोस्रो उत्कृष्ट खेलाडी घोषित

काठमाडौं, १ भदौ। नेपाली ईस्पोर्ट्स टोली होरा ईस्पोर्ट्सका शितल राई ‘स्लीपी’ पब्जी मोबाइल विश्वकपमा दोस्रो उत्कृष्ट खेलाडी (एमभीपी) बन्न सफल भएका छन्। प्रतियोगितामा स्लीपीले कुल ३१ जित हासिल गर्दै व्यक्तिगत रूपमा प्रभावशाली प्रदर्शन गरेका छन्।
होरा ईस्पोर्ट्सले विश्वकपमा आठौं स्थान हासिल गर्दै १ लाख २७ हजार ५ सय अमेरिकी डलर पुरस्कार प्राप्त गरेको छ। स्लीपीले प्रतियोगिताभर ३१ प्रतिस्पर्धीलाई परास्त गरेका थिए, जसमा १६ जित फाइनल चरणबाट आएका थिए। स्लीपीको उत्कृष्ट प्रदर्शनले होरा ईस्पोर्ट्सलाई विश्वव्यापी प्रतिस्पर्धामा बलियो उपस्थिति कायम गर्न मद्दत पुर्यायो।
स्लीपीले अघिल्लो संस्करणमा पनि चौथो उत्कृष्ट खेलाडीको स्थान हासिल गरेका थिए। यसरी स्लीपीले निरन्तर दोस्रो संस्करणमा विश्वकप एमभीपी सूचीमा स्थान बनाएका छन्। यस विजेताबारे सबैभन्दा उत्कृष्ट खेलाडीको रूपमा तियान्बाका क्यूजेजे घोषणा भएका छन्।






