Skip to main content

बेलायतस्थित अमेरिकी सैन्य छावनी नजिकै पाँच जना संदिग्ध पक्राउ

बेलायती प्रहरीले इरानविरुद्ध अमेरिकाद्वारा सञ्चालन भइरहेको सैन्य कारबाहीको लागि प्रयोग गरिंदै आएको बेलायती वायुसेना शिविर नजिकै आइतबार पाँच जना संदिग्ध व्यक्तिहरूलाई पक्राउ गरेको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ती संदिग्धहरू पहिलेदेखि नै अनुसन्धानको दायरामा रहेका जनाएको छन्। ‘बेलायतसँगको सहकार्यमा प्रभावकारी कार्य सम्पन्न भएको छ। हामीले उनीहरूलाई निगरानी र अनुसन्धानमा राखेका थियौँ,’ ट्रम्पले पत्रकारसँग भने, ‘उनीहरू हाम्रो सैन्य शिविरलाई ठूलो क्षति पुर्याउने योजना बनाइरहेकामा थिए। तर बेलायती पक्षसँगको संयुक्त प्रयास सफल रह्यो र हामीले उनीहरूलाई नियन्त्रणमा लियौँ।’

इङ्ल्यान्डको दक्षिण–पश्चिमतर्फ अवस्थित ग्लोस्टरसायरस्थित ‘आरएएफ फेयरफोर्ड’ वायुसेना शिविर नजिकै तीन वटा संदिग्ध सवारीसाधन बेसतर्फ जाँदै गरेको सूचना प्रहरीले प्राप्त गरेको थियो। सशस्त्र प्रहरीले वेलफोर्ड गाउँ नजिकै ती पुरुषहरूलाई नियन्त्रणमा लिएको हो। सुरुमा ‘विस्फोटक कार्य’ अन्तर्गत पक्राउ गरिएका उनीहरूलाई पछि ‘आतङ्कवाद विरोधी कानून’ को धारा ५ अनुसार आतङ्ककारी गतिविधि तयार पार्ने आरोपमा मुद्दा चलाइएको छ।

बेलायती आतङ्कवाद विरोधी अधिकृत भिकी इभान्सका अनुसार सेनाको विस्फोटक पदार्थ नष्ट गर्ने टोली (ईओडी) ले जाँच गर्दा सवारीसाधन वरिपरि ४ सय मिटर क्षेत्र सिल गरिएको थियो। सुरक्षा सतर्कता अपनाउँदै सो क्षेत्रमा करिब ८५ घरपरिवारका बासिन्दालाई सुरक्षित स्थानमा सारिएको छ। आरएएफ फेयरफोर्ड युरोपमा अमेरिकी वायुसेनाको मुख्य अग्रिम सञ्चालन स्थान हो जहाँ अमेरिकी ५०१ औं कम्ब्याट सपोर्ट विङ र ४२० औं एयर बेस स्क्वाड्रन तैनाथ छन्। यसअघि गत जुलाईमा इरानको इस्लामिक रिभोलुसनरी गार्ड कर्प्सले आरएएफ फेयरफोर्डबाट उडान भर्ने अमेरिकी बी–१ बमवर्षक विमानहरूलाई औंल्याउँदै इरानी भूभागमा आक्रमण गर्न प्रयोग हुने कुनै पनि सैन्य आधारलाई आफ्नो ‘वैध निशाना’ बनाउने चेतावनी दिएको थियो।