
१६ असोज, काठमाडौं । नेपाली फुटबलका पूर्व खेलाडी तथा प्रशिक्षक बालगोपाल साहुखलले प्रोफेसनल डिप्लोमा कोचिङ कोर्ष सफलतापूर्वक पूरा गरेका छन्। यस कोर्ष पूरा गरेसँगै उहाँ पहिलो नेपाली प्रशिक्षक बन्नुभएको छ जसले प्रो लाइसेन्स प्राप्त गर्नुभएको हो। फुटबल अस्ट्रेलिया र एसियन फुटबल महासंघ (एएफसी) द्वारा मान्यता प्राप्त यो कोर्ष व्यावसायिक फुटबलको उच्च तहमा प्रशिक्षण दिन इच्छुक प्रशिक्षकहरूको लागि तयार गरिएको थियो। कोर्षले उन्नत प्रशिक्षण रणनीति, नेतृत्व कौशल, व्यावसायिक वातावरणमा प्रशिक्षक टोली व्यवस्थापन, र खेलाडी विकासजस्ता विषयहरू समेटेको थियो।
साहुखलको कोर्ष सिड्नी फुटबल एसोसिएसन अन्तर्गत सञ्चालन गरिएको थियो र एक वर्ष अवधिमा चार चरणमा सम्पन्न भएको थियो। बालगोपाल साहुखलले आफ्नो यात्रामा साथ दिने सबैलाई धन्यवाद दिएका छन्। उहाँले व्यक्त गर्नुभयो, ‘मेरो यात्रामा साथ दिनुहुने सबैलाई हार्दिक धन्यवाद।’ साहुखलले नेपालका ए डिभिजन क्लबहरूबाट फुटबल खेलेका छन् भने उमेर समूहका प्रशिक्षकका रूपमा समेत काम गरिसक्नुभएको छ।






