Skip to main content

केरा किसानहरूको भनाइ: ‘पोहोरकै मूल्यमा बेचेका छौँ, तर बजारमा किन महँगो छ?’

उपभोक्ताले चर्को मूल्यमा केरा किनुपरेको खबर सार्वजनिक भए तापनि किसानहरूले आफूले विगतका वर्षहरूमा जस्तै मूल्यमा केरा बजारमा पठाउने गरेको बताएका छन्। चितवनका केरा किसान घननाथ महतोले भने, “जीनाइन (G9) जातको केरा ५ देखि ६ रुपैयाँ प्रतिकोसा र मालभोग केरा ७ रुपैयाँमा प्रतिकोसा बिक्री गर्दै आएका छौँ।” यो सिजनमा केराको माग बढी हुनसक्छ तर किसानहरूले कदरभन्दा बढी मूल्य लिएर बिक्री नगरेको उनले बताए। आफूले बिक्री गरेकोभन्दा धेरै मूल्यमा उपभोक्ताहरूले किनेर खानुपरेको सुनेर आफूलाई अचम्म लागेको महतोले बताए। “कसले बढी पैसा लिएको छ, त्यसको अनुगमन र कारबाही सरकारले गरोस्,” उनले भने।

चितवनका व्यावसायिक केरा किसान लक्ष्मण सुवेदीले पनि जीनाइन केरा दर्जनको ६० र मालभोग केरा ८५ रुपैयाँ दर्जनमा नै बिक्री गर्दै आएको बताए। उनले भने, “पोहोर पनि त्यही मूल्यमा केरा बिक्री भएको थियो, अहिले पनि त्यही मूल्यमा केरा बिक्री हुँदै आएको छ।” केही सीमित व्यापारीले मूल्य वृद्धि गराएको उनको आरोप छ। अहिले व्यवसायीहरूले भारतबाट केरा ल्याउन नपाएको अवस्थाले गर्दा व्यवसायीहरूले कृत्रिम मूल्यवृद्धि गरेर केराको मूल्य बढाएको सुवेदीको बुझाइ छ।

किसानहरूले काठमाडौं, पोखरा, बुटवल र चितवनका थोक व्यवसायीलाई केरा बिक्री गर्ने र थोक विक्रेताले खुद्रा व्यवसायीलाई बिक्री गर्ने हुँदै तीन तह पार गरेपछि केरा सर्वसाधारण उपभोक्तासम्म पुग्ने गरेको छ। केरामा पानमा रोगको भेरियन्ट ट्रपिकल रेस ४ अर्थात् टीआर ४ को जोखिमका कारण सरकारले भारतबाट केरा आयात गर्न रोकेको बताइएको छ। त्यो रोग केरामा लागे छिटो फैलिने र पूरै बगान सखाप हुने बताइएको छ।

किसानबाट सस्तोमा ल्याएर उपभोक्ताले चर्को मूल्यमा केरा किन्नुपर्ने अवस्था आउनु बजारमा बिचौलियाको अत्यधिक हस्तक्षेप भएको स्पष्ट हुने नेपाल केरा उत्पादक महासङ्घ तदर्थ समितिका अध्यक्ष विष्णुहरि पन्त बताउँछन्। काठमाडौंका थोक व्यवसायी हरि मैनालीले भने, नेपाली केरा किसानबाट ल्याएको मूल्यमा भाडा जोडेर १३० देखि १४० रुपैयाँमा बिक्री गर्दै आएको बताए। “भारतबाट चोरी निकासी गरेर कसले ल्याएर कहाँबाट बिक्री गरेको छ त्यो पत्ता लगाउन सकिएको छैन,” मैनालीले भने।

चितवन नारायणगढका फलफूल व्यवसायी विनोदप्रसाद गुप्ताले मालभोग केरा १५० र अन्य केरा १८० देखि २०० रुपैयाँ दर्जनमा बिक्री गर्दै आएको बताए। उनले मालभोग केरा नेपालकै भएको र अन्य प्रकारको केरा भारतको भएको बताए। तर नेपाल केरा उत्पादक महासङ्घ तदर्थ समितिका अध्यक्ष विष्णुहरि पन्तले नेपालकै केरालाई भारतबाट आएको भनेर थोक व्यवसायीहरूले किसानबाट किनेभन्दा उच्च मूल्यमा बिक्री गर्ने गरेको बताए।

केरा व्यवसायीका अनुसार नेपालमा १५,५০০ हेक्टरमा केरा रोपिँदै आएको छ भने ७,६३३ किसानले केराखेतीमा सहभागी छन्। नेपाललाई वार्षिक नौ लाख मेट्रिक टन केरा आवश्यक रहेकोमा स्वदेशमा सात लाख मेट्रिक टन उत्पादन हुन्छ। थप दुई लाख मेट्रिक टन केरा आयात गर्नुपर्ने अवस्था रहेको तथ्याङ्कले देखाउँछ।