Skip to main content

जिरीले देखाएको साहित्यमा नयाँ दिशा

साहित्यमा प्रकृतिका प्रसंगहरू धेरै पढेका छौं, लेखेका पनि छौं। तर प्रकृतिलाई स्वयंलाई केन्द्रमा राखेर, वातावरणीय संकटलाई मुख्य चिन्ता बनाएर गरिने साहित्यिक विमर्श प्रायः पृष्ठभूमिमा सीमित रहि आएको थियो। यसपटक साहित्यमा प्रकृतिमा देखिएका उपलब्धि र सङ्कटलाई मुख्य प्रवाहमा ल्याउने प्रयास गरिएको छ। ‘प्रकृति, साहित्य र दिगो भविष्य‘ भन्ने मूल नारासहित आयोजित प्रथम बागमती पर्यासाहित्य महोत्सव २०८२ ले नेपाली साहित्यको परम्परागत सन्दर्भलाई फराकिलो बनाउने संकेत दिएको छ। यो महोत्सव बागमती प्रदेश वन तथा वातावरण मन्त्रालय र जिरी नगरपालिकाले विभिन्न साहित्यिक संस्था तथा वन–वातावरण क्षेत्रमा क्रियाशील संघ–संस्थाहरूको सहकार्यमा आयोजना गरेका हुन्। चैत २७ देखि २९ सम्म चल्ने उक्त महोत्सवमा बागमती प्रदेशका १३ वटै जिल्लाका पर्यावरण क्षेत्रका सर्जक लेखकहरूको भेला भएको थियो। ३० गते बिहान पाहुनाहरूलाई जिरीबाट विदाई गरिएको थियो, जुन २०८२ सालको अन्तिम दिन पनि थियो।

सङ्घीय राजधानीबाट करिब १९० किलोमिटर टाढा रहेको हिमाली उपत्यका जिरीमा पुग्दा केवल एउटा महोत्सवमा सहभागी भएको अनुभूति भएन, बरु एक नयाँ संवाद जन्मिने स्थानमा उभिएको महसुस भयो। जिरीको प्रकृति साहित्यको पृष्ठभूमिबाट अघि आए, मुख्य प्रवाहमा आए। यसले देखायो कि अब साहित्य केवल सौन्दर्यको अभिव्यक्ति मात्र हैन, समयका गम्भीर प्रश्नहरूसँग जुध्न सक्ने माध्यम पनि हुन जरुरी छ। यहाँ संकट मात्र देखिएन, वातावरण सन्तुलनका लागि गरिएका विभिन्न प्रयास र उपलब्धिहरू खुलेर प्रशंसा गरियो। सामुदायिक वन तथा जलाधार व्यवस्थापनमा भएका उपलब्धिहरू साहित्यमा समेट्ने प्रयास पनि भयो। उत्सवमय महोत्सव चैत २८ गते महोत्सव उद्घाटनअघि १३ वटै जिल्लाका सर्जकहरू जिरी बजार नजिकै रहेको गुराँस पार्कमा एकत्रित भए। सेतो गुराँसका बगैंचाहरूबीच रहेको पोखरी र चौरमा सर्जकहरूले रमाइलो गरे; कतिपयले गीत गाए, कोही नाचे, कोही संवादमा व्यस्त रहे।

त्यसपछि उनीहरू हाटडाँडासम्म पुगेर स्थानीय समुदायको बाक्लो सहभागिता रहेको स्थलमा जातीय र स्थानीय परिवेश झल्काउने झाँकीले पाहुनाहरूलाई स्वागत गरियो। झाँकीसहित पाहुना, स्थानीय समुदाय सहित हाटडाँडादेखि लिङ्कन बजारसम्म पैदल र्‍याली गरिएको थियो र बसपार्कमा तयार गरिएको मञ्चमा उद्घाटन कार्यक्रम सम्पन्न भयो। झाँकी नाचले सबैको मन आर्कषित बनाएको थियो। कार्यक्रमको अध्यक्षता जिरी नगरपालिकाका प्रमुख मित्र जिरेलले गरेका थिए भने उद्घाटन यस कार्यक्रमको बागमती प्रदेशका वन तथा वातावरण मन्त्री भरत केसीले गरे। कार्यक्रममा प्रदेश सांसद उर्मिला सुनुवार, मन्त्रालयका सचिव डा. केदार बराल, विभिन्न राजनीतिक दलका प्रतिनिधि, स्थानीय तहका जनप्रतिनिधिहरू, पत्रकारहरू, नागरिक समाजका अगुवा तथा सर्वसाधारणको उल्लेखनीय सहभागिता रहेको थियो। यसले महोत्सवलाई मात्र साहित्यिक कार्यक्रम नभई सामाजिक र नीतिगत संवादको साझा मञ्चका रूपमा पनि स्थापित गरायो।