Skip to main content

सुकुमवासीहरू होल्डिङ सेन्टरमा कम्पन गरिरहेका छन्, अधिकांशमा रक्तचाप कम छ

काठमाडौं उपत्यकाका विभिन्न नदीछेउका अव्यवस्थित संरचनाहरूमा शनिबार बिहानदेखि डोजर चलिरहेको छ। २ सयभन्दा बढी परिवार घरबारविहीन भइसकेका छन् र त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा होल्डिङ सेन्टरमा स्क्रिनिङ जारी छ। स्वास्थ्य समस्या भएका सुकुमवासीहरूलाई हेल्थ डेस्कमा जाँच गरी कमजोरी, रक्तचाप घट्नु र दीर्घकालीन रोगका बिरामी भेटिएका छन्। १३ वैशाख, काठमाडौं।

काठमाडौं उपत्यकाका विभिन्न नदी आसपासका अव्यवस्थित संरचनाहरूमा शनिबार (हिजो) बिहानैदेखि डोजर चलिरहेको छ। विशेष गरी सुकुमवासीहरूको बस्ती रहेको ती क्षेत्रका संरचनाहरू भत्काएपछि उनीहरू सरकारसँग धमाधम सम्पर्कमा रहेका छन्। पछिल्लो सरकारी तथ्यांकअनुसार, २ सयभन्दा बढी परिवार घरबारविहीन भएका कारण नाम लेखाउन आएका छन्। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा होल्डिङ सेन्टर बनाएर सरकारले सुकुमवासीलहरूलाई स्क्रिनिङ गरिरहेको छ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका अनुसार, स्वास्थ्य समस्या भएका व्यक्तिहरुलाई छुट्टै हेल्प डेस्क बनाएर स्वास्थ्य सेवा प्रदान गर्ने काम भइरहेको छ। काठमाडौं महानगरपालिकाले सञ्चालन गरेको हेल्थ डेस्कमा बसेर स्वास्थ्य जाँच गरिरहेकी इन्दिरा पोखरेलका अनुसार, अधिकांशलाई कमजोरी र कम रक्तचाप (प्रेसर) समस्या देखा परेको छ। केही दीर्घकालीन रोगका बिरामी पनि सम्पर्कमा पुगेका छन्।

उनीहरूले बस्ती भत्कँदा औषधि छुटेको र निकाल्न नसकेकाले खान पनि पाउन नसकेको गुनासो पोखरेलले सुनाइन्। एकजना वृद्ध मृगौला फेल भएका बिरामी भेटिएको उनले बताइन्। ‘उहाँलाई वीर अस्पतालमा रेफर गरिएको छ,’ उनले भनिन्। बस्ती भत्कने चिन्ताले उनीहरू रातभर निसुत्ने र खान मन नभएकाले नखाएको अनुभव सुकुमवासीहरूले स्वास्थ्य जाँचको क्रममा सुनाएको पोखरेलले बताए। ‘राति खानै नखाइ सुतियो, डर पनि लाग्यो। त्यसैले खुट्टा थरथर काँडेको छ,’ स्वास्थ्य जाँचका लागि आएका मानिसहरूको भनाइ उद्धृत गर्दै पोखरेलले बताइन्।