Skip to main content

भेनेजुएलामा भूकम्पपछिको ३२ घण्टापछि नवजात शिशु जीवित उद्धार

भेनेजुएलामा आएको विनाशकारी भूकम्पपछि ३२ घण्टापछि ला ग्वाइरा क्षेत्रमा भग्नावशेषमुनिबाट १८ दिनका नवजात शिशु जीवित उद्धार गरिएको छ। अमेरिकी खोज तथा उद्धार टोलीले शिशुको उद्धार गरेपछि उनकी आमा पनि जीवित उद्धार भएकी छन् भनी अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन्। भूकम्पमा हालसम्म १ हजार ४३० जनाको मृत्यु, ३ हजार २०० भन्दा बढी घाइते र ६८ हजारभन्दा बढी मानिस सम्पर्कविहीन रहेका छन्। १४ असार, काठमाडौं।

भेनेजुएलामा गएको विनाशकारी भूकम्पमा उद्धारकर्मीहरूले भग्नावशेषमुनिबाट एक नवजात शिशुलाई ३२ घण्टापछि जीवित उद्धार गरेका छन्। स्थानीय सञ्चारमाध्यमका अनुसार उत्तरी भेनेजुएलाको ला ग्वाइरा क्षेत्रमा भत्किएको भवनको भग्नावशेषमा फसेका करिब १८ दिनको शिशुलाई अमेरिकी खोज तथा उद्धार टोलीले जीवितै उद्धार गरेको हो। भिडियोमा उद्धारकर्मीहरूले शिशुलाई सावधानीपूर्वक बाहिर निकाल्दै गरेको देखिन्छ। त्यसपछि शिशुलाई उपचारका लागि पठाइएको थियो। शिशुको उद्धारको केहि समयपछि उनकी आमालाई पनि जीवित उद्धार गरिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्।

भूकम्पपछि करिब ३२ घण्टासम्म भग्नावशेषमा रहे पनि शिशु र आमाको स्वास्थ्य अवस्था स्थिर रहेको बताइएको छ। सयौं उद्धारकर्मीहरू अझै पनि भग्नावशेषमा फसेकाहरूको खोजीमा जुटिरहेका छन्। यसैबीच, संयुक्त राज्य अमेरिकाले प्रभावित क्षेत्रमा उद्धार र राहत कार्यलाई सघाउन थप विमान, उद्धारकर्मी, सैन्य जनशक्ति र आपत्कालीन सहायता सामग्री परिचालन गरिरहेको जनाएको छ। अमेरिकी तथा अन्तर्राष्ट्रिय उद्धार टोलीहरूले स्थानीय निकायसँग समन्वय गरी जीवन बचाउने कार्यक्रमलाई तीव्रता दिएका छन्। मृतकको संख्या १ हजार ४३० पुगेको छ २०२६ जुन २८ को भूकम्पका दुई शक्तिशाली झट्काले भेनेजुएलामा कम्तीमा १ हजार ४३० जनाको मृत्यु भएको छ। एपी न्यूजका अनुसार ३ हजार २०० भन्दा बढी घाइते छन् भने ६८ हजार भन्दा बढी सम्पर्कविहीन रहेका छन्। सबैभन्दा बढी प्रभावित क्षेत्रहरूमा ला ग्वाइरा, राजधानी काराकास र वरपरका क्षेत्रहरू पर्दछन्। उद्धार कार्य जारी भएकाले मृतकको संख्या बढ्न सक्ने आशंका गरिएको छ। अमेरिका, अर्जेन्टिना, एल साल्भाडोरलगायत विभिन्न देशका खोज तथा उद्धार टोलीहरूले यो अभियानमा सहभागी छन्।