
१२ वैशाख, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद विश्वराज पोखरेलले विद्यालयका प्राध्यापकलाई स्वागत गर्न नआएको देखी व्यक्त गरेको अभिव्यक्तिप्रति विरोध सुरु भएको छ । ओखलढुङ्गाबाट निर्वाचित र पूर्वएआइजीसमेत रहेका पोखरेलले आफ्नो गृह जिल्लाको एक विद्यालयका प्रधानाध्यापकलाई थर्काएका थिए । स्वागतमा नआएको भन्दै रुष्ट हुँदै पोखरेलले प्रधानाध्यापकलाई भनेका थिए, ‘म आउँदैछु भने तपाईं निस्किनु पर्छ । तपाईं कर्मचारी हुनुहुन्छ, म रिटायर्ड विशिष्ट श्रेणी कर्मचारी हुँ ।’ आफूलाई माननीय भनेर सम्बोधन गर्दै उनले ‘जिल्लाको एउटा माननीय आउँदा हेड मास्टर चुप लागेर बस्नुपर्ने होइन?’ भनी प्रिन्सिपललाई डाक्दै थर्काएका थिए ।
सांसद पोखरेलको उक्त अभिव्यक्ति प्रति पार्टी भित्र र बाहिरबाट पनि विरोध सुरु भएको छ । पूर्वशिक्षामन्त्री महावीर पुनले स्वागत नगरेको कारण प्रधानाध्यापकलाई थर्काउने सांसद पोखरेललाई बर्खास्त गर्नुपर्ने माग गरेका छन् । पोखरेलको नाम नलिएर पुनले सांसद जनताको नोकर भएको स्मरण गराउँदै सुझाव दिएका छन्, ‘उनी कुन पार्टीका हुन् थाहा छैन । म उनको नेता भएको भए तुरुन्तै बर्खास्त गरेर घर पठाउने थिएँ । सांसद भनेको जनता सेवक हुन् । एक सांसदले आफ्नो क्षेत्रका जनताले अठोर मागेको काम गर्नुपर्छ,’ पूर्वमन्त्री तथा म्याग्दीबाट निर्वाचित पुन भन्छन्, ‘५ वर्षसम्म समय र बुद्धि जनताको सेवा गर्न लगाउनुपर्छ । बाटोमा स्वागत नगरेको कारणले आफ्नो तह देखाउन र मानमर्दन गर्न उनीहरूले पाउनुहुदैन । तुरुन्त माफी माग्नुपर्छ वा सबै जनताले फिर्ता बोलाउनु पर्ने हुन्छ । सांसद पदको बेइज्जत भएको छ ।’
पोखरेलले देखाएको व्यवहारप्रति रास्वपाका नेतादेखि कार्यकर्ताहरूले पनि आपत्ति जनाएका छन् । केन्द्रीय सदस्य तथा मोरङ-३ बाट निर्वाचित गणेश कार्कीले ‘भुई नछोड्न’ पोखरेललाई सुझाव दिएका छन् । उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘सांसद पद पनि अधिकतम ५ वर्षको हो । कस्तो बानी बनाउनु हुन्छ ? अनि ‘हजुर एक भोट दिनुस्’ भन्दै हजारौं नमस्ते गरेको दुई महिना पनि नपुग्दै के बिर्सनु भयो ? भुई नछोडौँ है ।’ शिक्षक मासिकका सम्पादक राजेन्द्र दाहालले पनि सांसद पोखरेलको प्रधानाध्यापकलाई गरेको अपमानप्रति विरोध जनाएका छन् । उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘आफू आउँदा स्वागतार्थ स्कुल गेटमा लामबद्ध नभएको कारण प्रधानाध्यापक पद तथा व्यक्तिको सार्वजनिक अपमान गर्ने व्यक्तिलाई ‘माननीय’ भन्नु कथा हो कि धिक्कार?’ रास्वपाका कार्यकर्ताहरू पनि सांसद पोखरेलको व्यवहारप्रति असन्तुष्ट भएका छन् । सामाजिक सञ्जालमा पोखरेललाई लक्षित गर्दै कडा टिप्पणीहरू गरिएका छन् । रास्वपाको स्थापनादेखि सक्रिय कार्यकर्ता स्वस्तिका लामिछानेले मतदातालाई थकाएको भन्दै पोखरेलको व्यवहारप्रति आक्रोश व्यक्त गरेकी छन् । ‘माननीयज्यूले बोल्न सिक्न आवश्यक छ । बरु बोल्ने कक्षासमेत सुरू गरिदिनुस्, हामी जनतासँग कसरी बोल्ने भनेर सिकाइदिन्छौं, ४ वर्षको अनुभव छ हामीसँग,’ नेतृ लामिछाने लेख्छिन्, ‘फौजीले आफ्नो भन्दा कमलाई थर्काउँछ तर सांसदले आफ्ना मतदातालाई थर्काउन हुदैन । तपाईंलाई माननीय बनाउन हाम्रो मेहनत कति छ, तपाईंलाई थाहा छैन होला । ४ वर्षदेखिको हाम्रो दुखाइको कदर गर्नुहोस् । माननीय भइदिएपछि मैमत्ति गर्ने काम बन्द गरियोस् । माननीय कस्ले बनायो ? जनताले होइन ? माथिबाट उठाउनेले भुईँमा झार्न पनि सक्छन्, हेक्का राख्नुहोस् ।’






