मुगुम कार्मारोङ गाउँपालिका: हिमाली क्षेत्रको सांस्कृतिक, धार्मिक र जैविक समृद्धि

मुगुम कार्मारोङ गाउँपालिकाले मुगु जिल्लाको ३,५३५ वर्ग किलोमिटर क्षेत्रफलको करिब ६० प्रतिशत भूभाग ओगटेको छ। छायाँनाथ धाम समुद्री सतहबाट ४,८२० मिटर उचाइमा अवस्थित हिन्दू तथा बौद्ध धर्मावलम्बीहरूको पवित्र तीर्थस्थल हो। सन् २०२५ मा मुगुम कार्मारोङमा छायाँनाथ राष्ट्रिय निकुञ्ज घोषणा गरिएको छ, जसले दुर्लभ वन्यजन्तु संरक्षण गर्दछ। हिमालले ओडिएको, नीलो आकाश मुन्तिर चम्किरहेको छायाँनाथ धाम र शान्त जीवनशैलीले सुसज्जित मुगुम कार्मारोङ नेपाल मात्र नभई विश्वकै दुर्लभ र मनमोहक क्षेत्रहरू मध्ये एक हो। यहाँको प्राकृतिक सौन्दर्य जुनसुकै आगन्तुकलाई पहिलो पटकमै मोहित बनाउँछ। यद्यपि, कमजोर पूर्वाधार र जटिल पहुँचका कारण मुगुम कार्मारोङको सौन्दर्य अझै पनि सीमित क्षेत्रमा सिमित रहेको छ।
नेपालको स्थानीय तह पुनर्संरचनापछि मुगु जिल्लाका २४ वटा गाउँ विकास समितिहरूलाई चार स्थानीय तहमा विभाजन गरिएको छ, जसमा एक नगरपालिका र तीन गाउँपालिका छन्। तीमध्ये मुगु जिल्लाको सदरमुकाम गमगढीको उत्तरपूर्वमा अवस्थित मुगुम कार्मारोङ गाउँपालिका भूगोलिक हिसाबले जिल्लाको सबैभन्दा ठूलो स्थानीय तह हो। पूर्वतर्फ शे-फोक्सुन्डो गाउँपालिका (डोल्पा), पश्चिममा छायाँनाथ रारा नगरपालिका (मुगु) र चंखेली गाउँपालिका (हुम्ला), उत्तरमा चीनको स्वशासित तिब्बत क्षेत्र, दक्षिणमा जगदुल्ला गाउँपालिका (डोल्पा) र पातारासी गाउँपालिका (जुम्ला) सँग सीमाना जोडिएको यो गाउँपालिकाले मुगु जिल्लाको कुल ३,५३५ वर्ग किलोमिटर क्षेत्रको करिब ६० प्रतिशत भूभाग अर्थात् २,१०७ वर्ग किलोमिटर ओगटेको छ।
छायाँनाथ धाम समुद्री सतहबाट करिब ४,८२० मिटर उचाइमा रहेको यो पवित्र धाम हिन्दू र बौद्ध दुवै धर्मावलम्बीहरूका लागि अत्यन्त महत्वपूर्ण तीर्थस्थल हो। हिन्दूहरूका लागि यो भगवान शिवको प्राचीन निवास र सतीदेवीको अन्तिम अंग पतन भएको शक्तिपीठ मानिन्छ। बौद्ध धर्मावलम्बीहरूका लागि यो अब्लाङको रूपमा चिनिन्छ। छायाँनाथ धामसँग सम्बन्धित प्राचीन बौद्ध मठ, गुम्बाहरू, दिव्य अवतारहरूको इतिहास र शिव, शक्ति र माताको पुण्यभूमिले यहाँ आउनेहरूलाई गहिरो आध्यात्मिक अनुभूति प्रदान गर्छ।
सन् २०२५ मा नेपाल सरकारले मुगुम कार्मारोङ गाउँपालिकामा छायाँनाथ राष्ट्रिय निकुञ्ज घोषणा गर्यो। यो निकुञ्जले उच्च पहाडी र नाजुक पारिस्थितिकी प्रणाली र दुर्लभ जीवजन्तुहरूको संरक्षण गर्दछ। यहाँका प्रमुख आकर्षणहरूमा हिमाली चितुवा, हिमाली थार, नाउर, घोरल, ब्वाँसो, डाँफे, कालिज र चकोर जस्ता दुर्लभ वन्यजन्तु तथा चराहरू समावेश छन्। यद्यपि, मुगुम कार्मारोङ पुग्न सजिलो छैन। अधिकांश ठाउँमा पुग्न अझै धेरै दिन पैदल हिँड्नु पर्दछ। सदरमुकाम गमगढीबाट पनि यात्रा चुनौतीपूर्ण छ।
स्थानीय पर्यटन तथा धार्मिक व्यवसायीहरू भन्छन्, मुगुम कार्मारोङमा आउने तीर्थयात्री र पर्यटकहरू यहाँको सौन्दर्य र पवित्रता देखेर मोहित हुन्छन्, तर जटिल पहुँचका कारण धेरैले पुन: यात्रा गर्न सक्दैनन्। भरपर्दो सडक, सहज हवाई सेवा, होटल र सञ्चार सुविधा विस्तार गरेमा मुगुम कार्मारोङ देशकै प्रमुख धार्मिक र पर्यटन गन्तव्य बन्न सक्छ।






