
गुल्मीको इस्मा गाउँपालिका–१ हर्पुकोट भेडाबारी क्षेत्रमा खोलाको बगरमा ८७ वर्षीय नेरुप्रसाद घिमिरे मृत अवस्थामा फेला परेका छन्। १२ वैशाख बिहान अमला टिप्न जान्छु भन्दै घरबाट नफर्केका घिमिरेलाई १३ वैशाख बिहान खोलाको बगरमा मृत अवस्थामा भेटिएको हो।
प्रहरी हवल्दार राधेश्याम यादवको टोली घटनास्थलमा पुगेको छ र जिल्ला प्रहरी कार्यालय गुल्मीबाट प्रहरी निरीक्षक पर्वतकुमार केसीको नेतृत्वमा थप अनुसन्धान भइरहेको छ। १२ वैशाख बिहान करिब ७ बजे घरबाट अमला टिप्न जान्छु भन्दै हिँडेका घिमिरे घर नफर्किएपछि आफन्त तथा स्थानीयले खोजी गरेका थिए।
खोजीका क्रममा उनलाई १३ वैशाख बिहान करिब ८ बजे खोलाको बगरमा घोप्टो अवस्थामा मृत फेला परेको प्रहरीले जनाएको छ। घटनाबारे जानकारी पाएलगत्तै प्रहरी चौकी हस्तिचौरबाट प्रहरी हवल्दार राधेश्याम यादवको कमाण्डमा दुई जनाको टोली खटिएको थियो।






